काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा नेतृत्वको काठमाडौँ मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीले रोल्पाको माडिचौरमा दुई दिने स्वास्थ्य शिविरमा निःशुल्क उपचार गरेको छ ।
ग्रामीण क्षेत्रका जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आयोजित शिविरमा १८ सय ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा महिला, ज्येष्ठ नागरिक, स्थानीय गरिब, विपन्न नागरिकहरूले केएमसीका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाएका थिए ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार शिविरमा १५६ जनाको ल्याब परीक्षण, १९७ जनाको अल्ट्रासाउन्ड र १३७ जनाको ईसीजी गरिएको थियो । त्यस्तै, २३ जनाको दाँत खोलिएको र १ सय २ जनाको ईको गरिँदा १ जनाको माइनर शल्यक्रिया गरिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । त्यसैगरी, शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका १ सय ३५ बिरामीलाई केएमसीमा शल्यक्रियाका लागि रेफर गरिएको छ ।

पूर्व अर्थ तथा ऊर्जामन्त्री वर्षमान पुन अनन्त र पूर्वसभामुख ओनसरी घर्ती मगर तथा समृद्ध रोल्पा फाउण्डेशनको आयोजना एवं रोल्पा नगरपालिकाको सहआयोजनामा स्वास्थ्य शिविरको आयोजना भएको थियो । समृद्ध रोल्पा फाउण्डेशनकी अध्यक्ष ओनसरी घर्ती मगरको सभापतित्वमा निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो । रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती मगरले सांसद शर्माले रोल्पा जस्तो विकट क्षेत्रमा रहेका जनताको स्वास्थ्य उपचारका लागि शिविर ल्याइदिएर पुण्यको काम गरेको भन्दै खुलेर प्रसंशा गरे ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

































प्रतिक्रिया