लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवसेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने बताएका छन् ।
बेँसीसहर नगरपालिका–७ स्थित मानवसेवा आश्रममा आज आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री गुरुङले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताएका हुन् ।
“धेरै मानिसले अन्य काममा पनि सहयोग गर्छन् तर परिवारले हेला गरेका र विविध कारणले सडकमा भौतारिरहेका मानवलाई सहयोग गर्नु उत्तम धर्म हो”, सरकारको प्रवक्ता मन्त्री गुरुङले भने,“समस्यामा परेका मानवको सहयोग गर्न सबै तयार हुनुपर्छ । यस्तो सहयोग गर्नु ठूलो धर्म गर्नु हो ।”
उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला लमजुङ, कास्की, गोरखालगायत चार ठाउँमा आश्रम निर्माणका लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री गुरुङले सडकमा भौतारिरहेका मानिसको सेवा र उत्थानका लागि मानवसेवा आश्रमले गरिरहेको योगदानको प्रशंसा गरे । उनले आश्रमले गरिरहेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासोका साथ हेरिरहेको भन्दै आश्रमलाई सबैले माया गर्नुपर्नेमा जोड दिए ।
“प्रधानमन्त्री स्वयं र आमा (प्रधानमन्त्री पत्नी) यसको संरक्षक हुनुहुन्छ । त्यसैले आश्रमको काम कारबाहीप्रति हामी सबैको ध्यान छ”, मन्त्री गुरुङको भनाइ थियो ।





























प्रतिक्रिया