क्वालालम्पुर
मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले बताएका छन् ।
यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखि चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ ।
मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५ औं राजाका रुपमा गद्दी त्याग गर्नुभएको राजदरबारले जानकारी दिएको छ ।’
तर राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए ।
उनले विदा लिए लगत्तै केही अनलाइन सञ्चार माध्यममा राजा सुल्तानले रुसकी पूर्व सुन्दरी ( मिस मस्को ) सँग विवाह गरेको खबर आएको थियो । मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ ।
एजेन्सी





























प्रतिक्रिया