काठमाडौं । काभ्रेस्थित रोशी खोलाको कलकल आवाज, मनै लोभ्याउने परिदृष्य, पहाडको सुरिलो हावा, शान्त अनि रमणीय वातावरणमा स्थापना भएको मल्पि इन्टरनेशनल स्कुलको यो दृष्यले जो कोहि विद्यार्थीलाई मोहित बनाउँछ ।
त्यति मात्र कहाँ होर, विद्यालयको बगैैंचामा फुलेका फूल, फराकिलो प्रांगण, वरिपरिको हरियाली हेर्दा आनन्द आउने भवनहरुले पनि विद्यार्थी र अभिभावकलाई मोहित बनाउँछ । मल्पि इन्टरनेशनल स्कुल हरियाली प्रकृतिको काखमा अवस्थित छ । मल्पि ईन्टरनेशनलले सिमित विद्यार्थीलाई न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आजको युग सुहाउँदो शिक्षाका लागि मल्पिले विद्यार्थीको सिकाईलाई व्यवहारसँग जोड्ने धारणासहित अगाडि बढिरहेको छ ।
मल्पि इन्टरनेशनलको परिकल्पना
पहिले नेपालबाट विद्यार्थी छात्रबास बसेर अध्ययनका लागि भारतको दार्जिलिङलगायत विभिन्न स्थानमा अध्ययनका लागि जाने प्रचलन रहेको थियो । त्यसबाट नेपाली रकम पनि बाहिरिरहेको थियो । नेपाली रकम बाहिर नजाओस् र देशमै विद्यार्थीहरुले छात्रबासको सुविधा सहितको विद्यालयमा अध्ययन गर्न पाउन् भन्ने उदेश्यले यस विद्यालयको स्थापना गरिएको हो ।
आजको युग सुहाउँदो शिक्षाका लागि मल्पिले विद्यार्थीको सिकाईलाई व्यवहारसँग जोड्ने धारणासहित अगाडि बढिरहेको छ ।
१९९९ मा आर्किटेक दिपकमान शेरचन लगायत ५८ जनाको समूहले मल्पि विद्यालयको स्थापना गरेका थिए । नेपालका कहलिएका व्यापारीहरुले स्थापना गरेको उक्त स्कुलको आर्किटेक दिपकमान शेरचन संस्थापक अध्यक्ष थिए । त्यसैगरी डा. अशोक कुमार बास्कोटा, डा. जगदिशलाल बैद्य, योगेन्द्र शाक्य जस्ता व्यक्तित्वहरुको सामूहिकतामा स्थापना भएको यस विद्यालयमा कक्षा ४ देखि १० सम्म पढाई हुनेगर्छ ।
विद्यालयको वर्तमान अवस्था
सुरुवाती अवस्थामा ४६ जना विद्यार्थी थिए । विस्तारै कक्षा ४ देखि १० सम्म ४ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । तर २०७२ सालको भूकम्प, २०७७–२०७८ सालमा कोरोनाले गर्दा विद्यार्थीको उपस्थिती संख्यामा कमी आए पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदै आएको छ ।
अहिले विद्यालयमा १७० जना विद्यार्थी अध्यनरत छन् । यो तथ्यांक भनेको विद्यालयको क्षमताभन्दा ४०/५० जना विद्यार्थीको संख्या कम हो । विद्यालयको नतिजा ८० प्रतिशत रहेको छ । कक्षा ६ देखि १० सम्म जम्मा ७ वटा कक्षा सञ्चालनमा छन् । कक्षा ४ र ५ मा एउटा मात्र कक्षा सञ्चालन भैरहेको छ भने कक्षा ७ देखि १० सम्म दुई वटा सेक्सन सञ्चालनमा रहेका छन् ।
उत्कृष्ट भौतिक संरचना
मल्पि -९ पनौतीमा ९० रोपनी क्षेत्रफलको हाराहारीमा मल्पि ईन्टरनेशनल स्कुल फैलिएको छ । ५ वटा छात्रवास रहेको छ । शैक्षिक भवन दुई वटा रहेको छ । फराकिलो कक्षाकोठा, आधुनिक डेक्स बेन्च, शिक्षण सिकाईका लागि प्रविधिको प्रयोग गरेर आधुनिक पद्धतिबाट अध्ययन गराईन्छ ।
बेला-बेलामा स्कुलले ‘इयर अफ रिडिङ्’ घोषणा गरेर विद्यार्थीलाई पुस्तक पढ्न अभिप्रेरित गर्दै आएको छ ।
एउटा कक्षा कोठामा २० देखि २८ जना विद्यार्थी सहभागी हुन्छन् । खेलकुदका लागि स्तरीय फुटबल ग्राउन्डको व्यबस्था रहेको छ । बास्केट बल, टेनिस जस्ता खेलसँग विद्यार्थीहरुलाई आवद्ध गराउने व्यवस्था रहेको छ ।
विदेशी विद्यार्थी
मल्पि इन्टरनेशनल स्कुलले अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालको भाषा, नेपाली चालचलन, रहनसहन, संस्कृतिको बारेमा अध्यापन गराउँदै आएको छ । जापान, कोरिया र चीनबाट आएका १२ जना विद्यार्थीहरु मल्पि स्कुलबाट नेपाली भाषा र कला संस्कृतिको अध्ययन गरिसकेका छन् । यसरी समय समयमा मल्पिले विदेशी विद्यार्थीलाई नेपालको बारेमा पढाउँदै आएको छ । कल्चर एक्सचेन्सको रुपमा विद्यार्थीहरु नेपाल आएर ३/४ वर्षको लागी आएर अध्ययन गरी फर्किने गरेका छन् । एक जना चाइनिज विद्यार्थीले मल्पि विद्यालयबाट एसएलसी उतिर्ण गरिसकेका छन् ।
विद्यालयले सन् २०११ मा अन्तर्राष्ट्रिय कार्यक्रमको इन्टरनेशनल म्याथम्याटिक्स कम्पीटिसन (एआईटिओएम) को आयोजना पनि गरेको थियो । उक्त कार्यक्रममा विश्वभरका २०३ जना विद्यार्थीहरु सहभागी भएका थिए । यसरी विदेशी विद्यार्थी नेपालमा आएर अध्ययन गर्दा नेपाली कला र संस्कृति विश्वभर फैलाउन सहयोग पुग्छ ।
शिक्षण सिकाईमा नयाँपन
विद्यालयमा अपनाइँदै आएको शैक्षिक प्रणालीलाई नै विद्यालयले अनुशरण गर्दै आए पनि विद्यार्थीलाई दिइने पाठ्यक्रमको ज्ञानलाई व्यवहारसँग जोड्नेलाई मुख्य प्राथमिकतामा राखेको छ ।
कतिपय विद्यालयले विद्यार्थीले सिकेन, यात गल्टी गर्यौं भनेर विद्यार्थीलाई पिट्ने गरिन्छ तर यस विद्यालयमा विद्यार्थीलाई यस्तो प्रकारको व्यवहार गर्न पाइँदैन । मल्पि स्कुलले लर्निङ बाई डुईङमा विश्वास गर्छ र विद्यार्थीलाई सोहि अनुरुप शिक्षा दिने गर्छ । यस विद्यालयले विद्यार्थीको रुचीलाई प्राथमिकतामा राख्ने गरेको छ । उदाहरणका लागि कुनै विद्यार्थी पढाईभन्दा गायनमा राम्रो छ भने सोही विद्यार्थीको लागि म्युजिक सिक्ने वातावरणको व्यवस्था विद्यालयले गर्दै आएको छ । ताकी विद्यार्थीले रुचीअनुसार आफ्नो भविष्य निर्धारण गर्न सकोस् । शिक्षा भनेको ज्ञान लिने मात्र होइन भविष्यको निर्धारण गर्ने बाटो तय गर्नु पनि हो ।
पढ्ने बानी विकासका लागि पुस्तकालय
पछिल्लो समय विद्यार्थीमा पुस्तक पढ्ने बानीभन्दा पनि प्रविधिमा आफ्नो धेरै समय खर्च गर्ने बानीको विकास हुँदै गएको छ ।
अनलाइनको युगमा विद्यार्थीले ई लर्निङबाट, ई बुकबाट धेरै कुरा सिकिरहेका हुन्छन् । तर पनि मल्पि ईन्टरनेशनल स्कुलले विद्यार्थीहरु अनिवार्य रुपमा पुस्तकालयबाट पुस्तक लिएर अध्ययन गर्नुपर्छ भन्ने मान्यता राखेको छ ।
छात्रबासमै बसे पनि विद्यालयले विद्यार्थीलाई प्रत्येक महिनामा दुई दिनका लागि घर पठाउने गर्छ ।
बेला-बेलामा स्कुलले ‘इयर अफ रिडिङ्’ घोषणा गरेर विद्यार्थीलाई पुस्तक पढ्न अभिप्रेरित गर्दै आएको छ । पुस्तकालयमा विद्यार्थीको रुची र उमेर अनुसार पुस्तकहरु राखिएका छन् । कतिपय विजद्यार्थीहरु पुस्तकालयमा गएर पुस्तक पढ्ने गर्छन् भने कतिपय विद्यार्थीले छात्रवासमा पुस्तक लगेर अध्ययन गर्ने गर्छन् ।
पुस्तकालयको अनिवार्य रुपमा विद्यार्थीले भिजिट गर्नुपर्ने नियम लागु गरेको छ । अतिरिक्त कृयाकलापमा पनि विद्यार्थीलाई अनिवार्य रुपमा सहभागी हुनुपर्छ ।
पूर्ण रुपमा छात्रवास
मल्पि पूर्ण रुपमा आवासीय विद्यालय हो । विद्यार्थीहरु घरबाट स्कुल जान्छु भन्न पाउँदैनन् । अध्ययनका लागि विद्यार्थीले छात्रबासमै बस्नुपर्छ । छात्रबासमै बसे पनि विद्यालयले विद्यार्थीलाई प्रत्येक महिनामा दुई दिनका लागि घर पठाउने गर्छ । अभिभावकले भने समय समयमा विद्यालय आएर आफ्ना छोराछोरीलाई भेट्न सक्छन् ।
विद्यालयले आयोजना गरेको कार्यक्रममा अभिभावकलाई बोलाइन्छ । यसरी पनि विद्यार्थी र अभिभावकबीच भेटघाट हुन्छ । यस विद्यालयमा विद्यार्थी मात्र होइन शिक्षकहरु पनि होस्टेल मै बस्नुपर्छ । शिक्षकहरुको लागि बनाइएको तिन वटा क्वाटरमा परिवार सहित बस्ने व्यवस्था रहेको छ ।
शिक्षकहरुलाई हप्ताको एक दिन बिदा हुन्छ, त्यही विदाको समयमा घर जान पाउँछन् ।
कति छ शुल्क ?
कक्षा ४ देखि ६ कक्षा सम्मको लागि महिनाको ४८ हजार शुल्क निर्धारण गरिएको छ भने ७ देखि १० कक्षा सम्मका विद्यार्थीले ५० हजार शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । मल्पि ईन्टरनेशनल स्कुल पूर्ण रुपमा आवासीय विद्यालयले भएकाले विद्यार्थीले महिनामा बुझाएको शुल्क अन्तर्गत होस्टेलको, अध्ययनको, खाना गरि विद्यालयले दिने सेवा सुविधाको सम्पूर्ण त्यहि शुल्क भित्र पर्दछ ।
छात्रवृतिको व्यवस्था
मल्पि ईन्टरनेशनलले स्थानीय तहले सिफारिस गरेको आधारमा पूर्ण रुपमा छात्रवृति प्रदान गर्दै आएको छ । मल्पि स्कुल पूर्णरुपमा आवासीय विद्यालय भएका कारण विद्यालयकै अर्काे शाखा सिद्धार्थ वनस्थलि इन्स्टिच्युटमा विद्यार्थीलाई कक्षा १० सम्म पूर्ण रुपमा छात्रवृति प्रदान गर्दै आएको छ । अहिले सम्म ४ सय विद्यार्थी पूर्ण रुपमा छात्रवृतिमा पढिसकेका छन् ।
अन्य शैक्षिक संस्थाभन्दा किन फरक ?
मल्पि इन्टरनेशनल स्कुल काठमाडौंदेखि नजिकमा पर्ने पूर्ण रुपमा आवासीय विद्यालय हो । नेपालमा यस्तो प्रकारको विद्यालयहरु कमै मात्रामा छन् । अध्ययनका लागि रमणीय वातावरण भएको र कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आत्मनिर्भर बनाउन, समाजसँग घुलमिल हुन सहज वातावरण निर्माण गर्ने भएकाले विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने मुख्य कारण हुन् ।
पछिल्लो समय बालबालिका मोवाईल फोनमा धेरै अभ्यस्त हुने गरेका छन् । जसका कारण बालबालिकाको सिर्जनशिल कार्यमा न्युन सहभागिता रहँदै आएको छ । मल्पिमा विद्यार्थीले मोबाईल फोन प्रयोग गर्न पाउँदैनन् । ल्यापटप भने प्रयोग गर्न पाउँछन् । जसका कारण विद्यार्थी पढाई र अतिरिक्त कृयाकलापमा अब्वल हुन्छन् । स्कुलमा विद्यार्थीका लागि स्वीमिङ् पुल, प्रशस्त खेल मैदान, आधुनिक कक्षाकोठा, रमणीय वातावरणको व्यवस्था रहेको छ ।
महत्वपूर्ण कुरा त के भने मल्पि इन्टरनेशनल स्कुलले विद्यार्थीको क्षमता अनुसार सिपलाई पनि प्राेत्साहन गर्दै आएको छ । त्यसैगरी शिक्षालाई व्यवहारसँग जोड्ने धारणालाई अगाडि बढाएको छ ।































प्रतिक्रिया