गोरखाका शिक्षकलाई च्याउखेती सिकाइदै, दिवा खाजा पोषणयुक्त च्याउ

गोरखाका शिक्षकलाई च्याउखेती सिकाइदै, दिवा खाजा पोषणयुक्त च्याउ

केन्द्रबिन्दु
33
Shares

गोरखा । सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरुआत गरिएको छ।

गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए। “विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ”, उनले भने।

गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ का लागि स्वीकृत ‘विद्यालय च्याउखेती कार्यक्रम’मार्फत सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालेको उपाध्यक्ष तिवारीको भनाइ छ। “प्रत्येक विद्यालयका एक–एक जना शिक्षकलाई च्याउखेतीका लागि तालिम दिएर पठाइएको छ”, उनले भने, “त्यस्तै च्याउखेतीका लागि आवश्यक बीउलगायत अन्य आवश्यक सामग्री पनि विद्यालयलाई अनुदानमा उपलब्ध गराइएको हो।”

गत वर्ष परीक्षणका रूपमा आठवटा विद्यालयमा गरिएको च्याउखेती सफल भएपछि यस वर्षदेखि अन्य विद्यालयमा पनि च्याउखेतीलाई विस्तार गर्न लागिएको हो। “विद्यालयले उत्पादन गरेको च्याउ दिवा खाजामा प्रयोग गरेर पनि बढी हुने अवस्था आए बजारमा बिक्री गर्ने योजनामा छौँ,” उपाध्यक्ष तिवारीले भने, “यसबाट विद्यालयको आयआजर्न पनि बढ्ने छभने बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउनेछन्।”

च्याउखेतीलाई प्रोत्साहनका लागि सबैभन्दा धेरै उत्पादन गर्ने विद्यालयलाई पुरस्कार दिने व्यवस्था गरिएको उनको भनाइ छ।

कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले चालु आवका लागि रु एक लाख बजेट विनियोजन गरेको जनाएको छ।

Skip This
Skip This
Logo