कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीले थारु भाषामा सपथ लिएका छन्।
सभामुख कृष्णबहादुर महराले सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । उनलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसद्को लोगो लगाइदिए।
सपथ कार्यक्रममा राजपाका शीर्ष नेताहरु पनि उपस्थित थिए। उनलाई बिहानै ११ः ३० वजे शपथ गराउने कार्यक्रम भए पनि ३ बजेका लागि सारिएको थियो ।
चौधरीलाई कारगारबाट निकाल्दा उनकी श्रीमती रन्जिता चौधरी श्रेष्ठ, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।
शपथ कार्यक्रम सकिए लगतै चौधरीलाई पुनः कारागार नै लगिनेछ। उनलाई निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो प्रदान गरे पनि उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन्। उनको सेवा सुविधा रोक्का हुनुका साथै बैठकमा भाग लिन पाउने छैनन्।
चौधरीले गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट अत्यधिक मत ल्याएर विजयी भएका थिए। आफूले निर्वाचित भएको प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। ०७४ पुसमा दर्ता रिटमा सर्वोच्चले पनि कानुनी हिसाबले फरार रहेको भन्दै वारेसमार्फत रिट दर्ता अस्वीकार गरेको थियो।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एउटा नरसंहार घटना भयो जसलाई टीकापुर काण्डका रुपमा चिनिन्छ। थरुहट आन्दोलनका टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।
चौधरीलाई उक्त घटनाका मुख्य अभियुक्त मानिएको छ । घटनापछि फरार रहेका चौधरीले अदालतमा आत्मसमर्पण गरेका थिए। आत्मसमर्पण गरेकै दिन अदालतले बयान गराई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।































प्रतिक्रिया