दाङ । तुलसीपुर उपमहानगरपालिका – १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन्। उनले तोरी, चना, केराउ खेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन्। लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन्।
“पहिले ९ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ। लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो”, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने।
उनले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गरेका छन्। उनी बेमौसमी सागसब्जी लगाउने योजनामा छन्। कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उनले बताए। उनी कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित छन्। पूर्ववडासदस्य उनी हिजोआज राजनीतिबाट अलग छन्। यद्यपि सामाजिक काममा गाउँलले उनलाई नै सम्झन्छन् ।
मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ। साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ। यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रुपमा आफू आत्मनिर्भर भएको बताउँछिन्। उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोपेकी छिन्। उनी आफ्ना उत्पादन स्वयं बजार पुर्याउँछिन् र आफै बेच्छिन्। टमाटर, काउली र धनियाँ बिक्री गरेर रु डेढ लाख आम्दानी गरेको उनले बताइन्। तोरी बेचेर अर्को रु तीन लाख ५० हजार बचत गरेको उनले आल्हादित हुँदै सुनाइन्। सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो। थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उनी मक्ख छिन्।
मोटरमा कृषि उपज बजारसम्म लैजाने उनी मात्र छैनन् उनका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ। मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन्। एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ।





























प्रतिक्रिया