काठमाडौं । पछिल्लोसमय नेपाललाई शैक्षिक गन्तव्य बनाउने विषयको चर्चा चुलिएको छ । शिक्षाविद्हरुले समेत नेपाललाई शैक्षिक गन्तब्य बनाउन सम्भव छ भनिरहेका छन् । निजी शैक्षिक संस्थाका छाता संठगन प्याब्सन, एन प्याब्सन, हिसानका नेतृत्वकर्ताहरुले नेपाललाई शैक्षिक गन्तव्य बनाउने अभियानको नेतृत्व गर्न तयार छौं भनिरहेका छन् । साथै शैक्षिक परामर्श संघका छाता संगठनका नेतृत्वकर्ताहरुले पनि नेपालमा विदेशी विद्यार्थी ल्याउन तयार छौं भनिरहेका छन् । यद्यपी राज्यले भने यस विषयमा अझैसम्म केही बोलेको भने छैन ।
प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना भन्छन् – “नेपाललाई शैक्षिक हब बनाउन धेरै सम्भावना रहेको छ । तर समस्या भनेको राज्यको नीति हो ।”
उनले थपे, “शैक्षिक हब बनाउनको लागि निजी शैक्षिक संस्था लगानी गर्न तयार छ र विदेशी विद्यार्थी ल्याएर पढाउन पनि तयार छ । यसका लागि राज्यले खुकुलो नीति बनाउन आवश्यक छ ।”
राज्यले २० वटा मेडिकल कलेज खोल्ने अनुमति दिएर प्रत्येक वर्ष प्रत्येक सेमेस्टरमा १ हजार विद्यार्थी पढाउने अनुमति दिए विदेशि विद्यार्थी आउन तयार हुन्छन् । यदि राज्यले यस्तो गर्न सक्यो भने नेपालमा लाखौं विद्यार्थी भित्र्याउन नीति शैक्षिक संस्थाहरु तयार रहेकोमा ढुङ्गानाले जोड दिए ।
नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिन्छ भन्नेमा शिक्षाविद्हरुको पनि एउटै मत देखिन्छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थी विदेश गइरहेकोमा पीर मात्र गरेर हुँदैन विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सक्ने नीति पनि तयार गर्नुपर्ने सुझाव दिएका छन् । उनले भने– “नेपालको विद्यार्थी विदेश जाने समस्या हैन, सम्भावना हो ।”
त्यस्तै, नेपाललाई शैक्षिक हव बनाउन सकिन्छ भन्दै आएका हिसानका अध्यक्ष रमेश सिलवालले भने जबसम्म नेपाली विद्यार्थीलाई देशमै रोक्न सकिन्नँ तबसम्म विदेशी विद्यार्थी ल्याउन सम्भव नरहेको बताएका छन् ।
शिक्षासँग सम्बन्धित हरेक जसो कार्यक्रममा ‘नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिन्छ कि सकिँदैन ?’ भन्ने विषयमा चर्चा हुँदै आएको छ । चाहे त्यो शैक्षिक परामर्श संघको कार्यक्रममा होस् वा निजी शैक्षिक संस्थाका छाता संगठनको कार्यक्रममा होस् यस विषयले स्थान पाएकै हुन्छ । वा भनौं चुनावको समयमा उम्मेदवारले भोट माग्दा लगाउने नारामा समेत नेपाललाई शैक्षिक गन्तव्य बनाउने विषय छुटेको छैन ।
वि.सं २०७९ मा संघीय चुनावको बेला ललितपुर क्षेत्र नं ३ बाट उम्मेदवार बनेकी माओबादीकी नेतृ पम्फा भुसालले त नेपाललाई शैक्षिक गन्तव्य बनाउने मुख्य एजेन्डा नै बनाएकी थिइन् । यद्यपी उनले चुनावमा नमिठो हार बेहोर्नुपर्दा एजेण्डा कागजमै सीमित बन्यो ।
निजी शैक्षिक संस्थाका छाता संगठनका नेतृत्वकर्ताहरु, शैक्षिक परामर्श संघका छाता संगठनहरुले नेपाललाई शैक्षिक गन्तव्य बनाउने विषयबस्तुको उठान गर्दै आए पनि संसदमा वा अन्य कुनै राजनीतिज्ञहरुले यस विषयको बारेमा बोलेको भने खासै सुनिँदैन । तर कतिपय स्थानीय तहहरुले भने शैक्षिक गन्तव्य बनाउने नीति अगाडि सारिसकेका छन् ।
शैक्षिक हबको सम्भावना कति ?
नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना रहेको सरोकारवालाहरुले बताउँदै आएका छन् । १४५ वटा नेपाली भाषा छ, त्यसैले भाषा, भाषाको लिपि पढाउन सकिन्छ । नेपाली संस्कृति, भुगोलमा समाजशास्त्र र मानवशास्त्र, किराँतहरुको मुन्धुम, वेद, त्रिपिटकको सम्बन्ध के छ ? भन्ने विषयमा अध्यापन गराउन सकिन्छ ।
त्यसैगरी वनस्पति, चराचुरुङ्गी, कला, थान्काका चित्रमा पनि अध्यापन गराउन सकिन्छ । अर्काे विषय भनेको मेडिकल साइन्स र इन्जिनियरिङमा अध्यापन गराउन सकिन्छ ।
नेपाललाई शैक्षिक गन्तव्य (एजुकेसन हब) को रूपमा विकास गर्ने हो भने नेपाली विद्यार्थीलाई कम्तीमा स्तातक तहसम्म नेपालमै पढ्ने र नेपालमै रमाउने वातावरण सिर्जना गर्नुपर्ने बताउँछन् हिसानका अध्यक्ष सिलवाल । उनले भने, “नेपालबाट विदेशमा अध्ययन गर्न जाने होइन, विदेशबाट नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउनुपर्छ ।”
नेपालबाट शिक्षा प्राप्तिका लागि विदेशिने वार्षिक खर्बौँ रकमलाई नेपालमै राखेर र विदेशी डलर नेपाल भित्र्याई वर्तमान अवस्थाको जर्जर अर्थतन्त्रलाई सुधारमा टेवा पुग्ने उनले बताएका छन् । यसका लागि राज्यपक्ष र सम्बद्ध सरकारी, गैरसरकारी र निजी संस्थाहरू गम्भीर भएर व्यापक अध्ययन एवं अनुसन्धान गरी सबल पक्षहरू समीक्षा गरी उपयुक्त निकास निकाल्नुपर्नेमा उनले जोड दिए ।
नेपाललाई शैक्षिक हब बनाउन नसकिने हैन, बनाउन सकिन्छ । तर त्यसका लागि पहिला विदेशी विद्यार्थी सहज रूपमा नेपाल आउने, बस्ने र अध्ययन गर्न सक्ने वातावरण सरकारले सिर्जना गरिदिनुपर्छ ।
नेपालमा चिकित्सा शिक्षा, इन्जिनिनयरिङ्, टुरिजम, हस्पिटालिटी, माउन्टेन, बौद्ध दर्शन, नेपाली संस्कृतिको बारेमा अध्ययन हुने हो भने विदेशी विद्यार्थी ल्याउन सकिन्छ । नेपाल आफैं पनि भौगोलिक विविधता, सांस्कृतिक विविधता भएको, हावापानी राम्रो भएको देश हो त्यसैले पनि विदेशि विद्यार्थी आउने सम्भावना रहेको छ । नेपालमा अध्ययन गर्दै कमाउने वातावरण निर्माण गर्न सके नेपाली विद्यार्थी पनि नेपालमै अडिन्छन् र विदेशि विद्यार्थी पनि नेपाल आउछन् ।
चुनौती के ?
विदेशी विद्यार्थी पढाउने उदेश्यले खोलिएका क्याम्पस र स्कुल पनि छन् तर ति शैक्षिक संस्थाहरुले विभिन्न कानुनी झन्झट बेहोर्नु परिरहेको छ । नेपालमा अध्ययन गर्छु भन्ने विदेशी विद्यार्थीलाई अध्ययन भिसासमेत नदिने राज्य के शैक्षिक हब बनाउन तयार होला ?
जति पनि विदेशी विद्यार्थीहरु नेपालमा अध्ययन गरिरहेका छन् ति विद्यार्थीले हरेक ६ महिनामा भिसा अपडेट गर्नुपर्ने हुन्छ । अन्य मुलुकले विद्यार्थीलाई ४/५ वर्षको अध्ययन भिसा दिँदा नेपालले भने विद्यार्थीलाई अध्ययन भिसा किन नदिने ?
तर, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भने यसमा फरक मत राख्छन् । उनले भने, “अहिले प्रविधिको जमाना छ विदेशी विद्यार्थी अध्ययन गर्नका लागि नेपालमै आउनुपर्छ भन्ने छैन । अनलाईन मार्फत नेपाली डिग्री हासिल गर्न सक्ने वातावरण निमार्ण गर्न सकिन्छ ।”
अर्काे समस्या नेपालको जेठो र गुणस्तरीय शिक्षामा अब्बल भनिएको त्रिभुवन विश्वविद्यालय विश्व वरियतामा खस्किने क्रम जारी छ । अन्य विश्वविद्यालयको अबस्था पनि कतैबाट लुकेको छैन । विद्यार्थीले समयमा भर्ना, परीक्षा र नतिजा पाउँदैनन् ।
शैक्षिक तालिका अनुसार विश्वविद्यालय चल्दैनन् । हरेक दिन जसो विश्वविद्यालयमा आन्दोलन, नाराबाजी र तालाबन्दी हुन्छ । विभिन्न बहानामा विद्यार्थीले शिक्षकलाई मोसो दल्छन् । मरणासन्न हुने गरी कुटपिट गर्छन् । त्यस्ता विश्वविद्यालयमा विदेशी विद्यार्थी कुन आधारमा ल्याउने ? शैक्षिक हबको बहससँगै राज्य तथा सरोकारवालाहरुको ध्यान यतातिर पनि जान जरुरी देखिन्छ ।
विद्यार्थी कहाँबाट ल्याउने ?
छिमेकी राष्ट्र भारतमा १ सय ४० करोड जनसंख्या रहेकोमा युवाको जनसंख्या नै ६० करोड रहेको छ । नेपालमा ति युवामध्ये दुई लाख युवालाई पढाउन पाए पुग्छ । विश्वमै धेरै जनसंख्या भएको छिमेकी मुलुक चीन छ । नेपाली विद्यार्थी चीन गएर अध्ययन गर्छन् भने त्यहाँको विद्यार्थीलाई नेपाल ल्याउन पनि सम्भव छ ।
अर्काे बंगलादेश, अमेरिकाका विद्यार्थीलाई समेत ल्याउन सकिने प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले बताए । दार्जिलिङ देहरादुन, वर्मा, थाइल्याण्ड जस्ता देशका विद्यार्थी ल्याउन सके अन्य देशका विद्यार्थी स्वतः आउन थाल्छन् । तर आउने विद्यार्थीका लागि सेवा, सुविधा, सुरक्षाको ज्ञारेन्टी गर्न सक्नुपर्छ । विद्यार्थीसँगै अभिभावक पनि आउँछन् त्यसका लागि राम्रो होटलको व्यबस्था पनि हुनुपर्छ । राम्रो भौतिक पूर्वाधारको आवश्यक हुन्छ । खाने, बस्ने ठाउँको राम्रो व्यवस्था हुनुपर्छ । यति गर्न सक्यौं भने विदेशी विद्यार्थी ल्याउने सम्भव छ ।
नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ । तर, प्रश्न उठ्छ,नेपाललाई शैक्षिक हब बनाउने आधार र पूर्वाधार के छन् ? हामी कहाँ ती विषयसम्बन्धी पाठ्यक्रम बनेका छन् ? अध्यापन गराउने प्राध्यापक पर्याप्त छन् ? त्यस किसिमको शिक्षा दिने विश्वविद्यालय वा कलेज खै ? स्वभाविक प्रश्न हो यो ।































प्रतिक्रिया