काठमाडौं । प्रा. डा. केशरजंग बराल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको रुपमा नियुक्त भएको एक वर्ष हुन मात्र एक महिना बाँकी छ । त्रिविको इतिहासमै पहिलोपटक मेरिटोके्रसीको आधारमा उपकुलपति नियुक्त भएका बरालले राजनीतिले अस्तव्यस्त भएको त्रिविको सुधारका लागि त्रिविको बागडोर सम्हाल्ने जिम्मा पाए । स्वतन्त्र रुपमा नियुक्त भएका भनिएका उपकुलपतिका अगाडि त्रिवि सुधारका चुनौति सँगै अवसर पनि थिए र छन् ।
उपकुलपति नियुक्त भएपछि प्रा.डा. बरालको एजेण्डा भनेकै त्रिविको सुधार रहेको थियो । त्यतिबेला उपकुलपति प्रा. डा. बरालले भनेका पनि थिए, ‘मुख्य काम भनेकै शैक्षिक क्यालेन्डर लागू गर्ने, समयमा परिक्षा सञ्चालन गर्ने र समयमा नै नतिजा प्रकाशन गर्ने परिपाटी लागू गर्न सके अधिकांश समस्याको समाधान हुन्छ ।’
प्राज्ञिक क्षेत्रलाई राजनीतिको थलो बनाउँदा त्रिविको साख दिनदिनै दयनीय बन्दै गएको छ ।
तर उपकुलपति, कार्यकालको १ वर्ष पुग्न लाग्दा कहिले विद्यार्थी, कहिले कर्मचारी त कहिले प्राध्यापकहरुको माग सम्बोधन गर्नमै व्यस्त रहे । केही दिन मात्र भएको छ, त्रिविमा ताला नलागेको र आन्दोलन नभएको ।
नयाँ नियुक्तिसँगै सुरु हुन्छ धर्ना
प्रा. डा. बराल उपकुलपति हुनुभन्दा अगाडिको कार्यकालमा निर्वतमान उपकुलपति प्रा.डा. धर्माकान्त बास्तोलाको पनि १ वर्ष कार्यकालको अवधि तालावन्दीमै बितेको थियो । त्यस्तै, कार्यकारी उपकुलपति प्रा. डा. केशवजंग बरालको पनि प्रा. डा. केशरजंग बराल उपकुलपति भएपछि केही समयको लागि विश्वविद्यालयको वातावरण शान्त भएको थियो । तर विभिन्न संकायको डिन र क्याम्पस प्रमुख नियुक्तिको सममयमा फेरि पुरानै समस्या बल्झिन पुग्यो ।
उपकुलपति नियुक्त भएपछि प्रा.डा. बरालको एजेण्डा भनेकै त्रिविको सुधार रहेको थियो । तर, विद्यार्थी र कर्मचारीकाे माग सम्बोधन गर्नमै व्यस्त रहे ।
केहीसमय शान्त बनेको त्रिविको परिसर विभिन्न विरोध प्रदर्शन, धर्ना र तालाबन्दीमा घेरियो । त्रिवि केन्द्रिय, क्याम्पसको प्रिन्सिपल कार्यालयमा लागेको ताला खोलिएपछि यति बेलाको लागि भने त्रिवि तालाबन्दीमुक्त भएको छ । यो समय भनेको उपकुपतिको लागि विश्वविद्यालय सुधारमा अगाडि बढ्ने राम्रो अवसर सावित हुन सक्छ ।
नयाँ नियुक्तिसँगै सुरु हुन्छ आन्दोलन
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित पाँच विद्यार्थी संगठनले रेक्टर प्रा.डा. खड्क केसीको कार्यकक्ष बाहिर पुष १६ गतेदेखि धर्ना बसे । त्यस्तै कर्मचारीहरू पुष १ गते देखि झण्डै एक महिना दिनहुँ विरोध प्रदर्शन गरे । उनीहरूले हरेक दिन बिहान एक घण्टा त्रिवि परिसरमा नाराबाजीका साथ विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले विरोध प्रदर्शन गर्ने समयमा उपकुलपति लगायतका पदाधिकारीहरू विश्वविद्यालय प्रवेश गर्दैनन् ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि अध्यक्ष तथा स्ववियु सचिव सिद्धान्त भट्ट १९ दिनसम्म उपकुलपतिको कार्यकक्ष बाहिर धर्नामा बसे । ३६ बुँदे सहमति भएपछि पुस १४ गते उनले धर्ना स्थगित गरका थिए । उनी धर्नामा बसेको बेला पनि उपकुलपति काम गर्न त परको कुरा कार्यालयमा प्रवेश समेत गरेनन् ।
खेलको समयमा पार्किङ शुःल्क उठाएको भन्दै विभिन्न विद्यार्थी संगठनले त्रिविको प्रिन्सिपल कार्यालय र स्ववियु कार्यालयमा अझै ताला लागिरहेको छ ।
माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भौतिकशास्त्र विभागको प्रशासन र विभागिय प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई शोधपत्रमा सहभागी नगराई अनुसन्धानात्मक गतिविधिबाट वञ्चित गरेको भन्दै विभागमा ताला लगाएको थियो । जसका कारण हप्तौं दिन सम्म कर्मचारी कार्यलयमा प्रवेश गर्न पाएनन् ।
त्रिविमा कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने मागसहित कर्मचारीहरु पुष १ गते देखि आन्दोलित थिए, अहिलेको लागि भने आन्दोलन स्थगित गरिएको छ ।
त्यसैगरी नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) खेलको समयमा पार्किङ शुःल्क उठाएको भन्दै विभिन्न विद्यार्थी संगठनले त्रिविको प्रिन्सिपल कार्यालय र स्ववियु कार्यालयमा अझै ताला लागिरहेको छ । त्यस्तै त्रिविका प्राध्यापक संघले आन्दोलनको चेतावनी दिएको छ ।
तालाबन्दीको उल्झनमै हुन्छ त्रिवि, सुधारमा छैन कुनै प्रगति
त्रिविले नयाँ उपकुलपति पाएसंगै सरोकारवाला सबैलाई लागेको थियो अब त त्रिविको साख फिर्ता आउँछ होला । तर जहिल्यै हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हुन्छ । दलीय राजनीतिबाट उपकुलपति नियुक्त भएकाहरु त्रिवि सुधारका लागि गरेको आफ्ना बाचा बिर्सन्छन् र फेरि त्यही राजनीतिका कारण काम गर्न नपाएको भन्दै ।
राजनीतिले ग्रसित, शैक्षिक कार्यक्रम नै अस्तव्यस्त र साख गिरिरहेको त्रिविलाई सुधार्न उपकुलपति एक्लैले नसक्ने प्रा.डा. बराल बताउँछन् । यसको लागि विद्यार्थी, प्राध्यापक, सरोकारवाला सम्पूर्ण निकाय एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।
उपकुलपति नियुक्त भएपछि उनले भनेका थिए, ‘मेरो पहिलो प्राथमिकता एकेडेमिक क्यालेन्डर बनाएर कार्यान्वयन गर्ने र शैक्षिक कार्यक्रमलाई ट्र्याकमा ल्याउने हुनेछ । विद्यार्थीले शैक्षिक क्यालेन्डर मागिरहेका छन्, त्यसको कार्यान्वयन भइराखेको छैन । जसका कारण समयमै शैक्षिक कार्यक्रम हुन सकिरहेका छैनन् ।’
दोस्रो प्राथमिकतामा परीक्षाको नतिजा समयमै निकाल्ने रहेको उल्लेख गरेका थिए । ‘परीक्षाको नतिजा समयमै नआउँदा पनि विश्वविद्यालयप्रति धेरैको विश्वास घट्दै गएको छ ।’ उनले भनेका थिए ।
बरालले तेस्रो प्राथमिकतामा पाठ्यक्रम सुधारलाई रहेको बताएका थिए । ‘तेस्रो प्राथमिकताको विषय पाठ्यक्रमको सुधार रहेको छ । धेरै वर्षसम्म पनि पाठ्यक्रम अध्यावधिक भइराखेको छैन । श्रम बजार र मागअनुसार पाठ्यक्रमलाई अध्यावधिक गर्नुपर्ने छ । यी ३ कुरा हुनेवित्तिकै विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्छ ।’ बरालले भनेका थिए । तर यीमध्ये कुनै पनि विषयले सुधारको गति लिन सकेको छैन ।
स्वतन्त्र रुपमा नियुक्त भएका भनिएका उपकुलपतिका अगाडि त्रिवि सुधारका चुनौति सँगै अवसर पनि थिए र छन् । तर गति सुस्त छ ।
पूर्वउपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले बिदाइ हुँदै गर्दा उनले विद्यार्थी संगठन र कर्मचारीहरूले अनावश्यक माग राख्दा काम गर्न नसकिएको बताएका थिए । अहिलेका पदाधिकारीहरूले समेत त्यही नियति भोग्न थालेका छन् । प्राज्ञिक क्षेत्रलाई राजनीतिको थलो बनाउँदा त्रिविको साख दिनदिनै दयनीय बन्दै गएको छ । राजनीतिक स्वार्थ बोकेका संघ संगठनले विभिन्न माग राखेर त्रिविको प्रशासनदेखि विभिन्न संकायमा तालाबन्दी गर्दा पठनपाठनमा बाधा पुग्दै आएको छ ।
त्रिविका पदाधिकारीहरु चाहेका जति काम गर्न पाएका छैनन् । या भनौं काम गर्न चाँहदैनन् । जे जस्तो भए पनि त्रिवि सुधारको चर्काे आवाज, आवाजमा मात्र सिमित नहोस् । खस्कँदै गएको साख फिर्ता आएर सबै विद्यार्थीले विस्वास गर्न सकुन् र यसले विद्यार्थी पलायन हुन बाट रोकोस् ।































प्रतिक्रिया