काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । काम नगरेपछि तामकोसी-काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको हो ।
प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी-काठमाडौ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती-बाह्रबिसे खण्डको ठेक्का तोडेको हो ।
प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत समेत जफत गरेको छ ।
ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिए ।
प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३ मा १२ जेठ ०७६ मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको कामलाई तिब्रता दिन ठेकेदार कम्पनीलाई पटक-पटक निर्देशन दिएका थिए । तर, कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको हो ।
ठेक्का तोडेको पछि प्राधिकरणले नयाँ ठेकेदार छनोटका लागि ठेण्डर आह्वान गरेको छ । नेपाल सरकार र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको उक्त आयोजनाको आगामी मे भित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्य लिईएको छ ।
खिम्ती र तामाकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी-काठमाडौ उच्च क्षमताको प्रसारण लाइन बनाउन गर्न लागिएको हो ।





























प्रतिक्रिया