काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक बन्न ४ जना चिकित्सकले आवेदन परेको छ ।
रिक्त रहेको निर्देशकको पदका लागि प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्य, नरमाया थापा, घनश्याम गुरुङ र सहप्राध्यापक डा. गोपाल सेडाईंले आवेदन दिएको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले जनाएको छ ।
कार्यालयले प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो । डिन कार्यलयले दरखास्त स्वीकृत गर्दै प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको छ ।
डीन कार्यालयको सूचनाअनुसार आउँदो बुधबार ४ जना उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।
त्रिविका सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियमको आधारमा कार्यकारी निर्देशकको नियुक्ति हुने जनाइएको छ । सिफारिस समितिको सिफारिसको आधारमा डीनले निर्देशक गर्ने व्यवस्था छ ।
सोही विनियमअनुसार त्रिवि कार्यकारी परिषद्ले प्राडा मोहनराज शर्मालाई डीन नियुक्त गरेको थियो। प्राडा दिनेश काफ्लेको कार्यकाल पूरा भएपछि निर्देशक नियुक्ति प्रक्रिया थालिएको हो। गुरुङ निमित्त निर्देशकको जिम्मेवारीमा छन् ।
त्यस्तै, महाराजगञ्ज चिकित्सा क्याम्पसको प्रमुखका लागि ५ जना प्राडाहरू प्रतिस्पर्धामा हुने भएको छ । डीन कार्यालयका अनुसार क्याम्पस प्रमुखका लागि मिनु चौधरी, योगेन्द्रमान शाक्य, रमेशसिंह भण्डारी, सुरेश उप्रेती र संघरत्न बज्रचार्यको आवेदन परेको छ । उनीहरुको प्रस्तुतीकरण र अन्तरवार्ता डीन कार्यालय महाराजगञ्जमा आगामी माघ २२ गते मंगलबार हुनेछ ।





























प्रतिक्रिया