झापामा भएको आगलागीमा डेढ करोडको क्षति : पीडितलाई सहयोगका लागि अनुरोध

झापामा भएको आगलागीमा डेढ करोडको क्षति : पीडितलाई सहयोगका लागि अनुरोध

केन्द्रबिन्दु
0
Shares

भद्रपुर

झापाको मेचीनगर–१० भानुटोलमा भएको आगलागीमा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

आगलागीबाट २० घर जलेर पुरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ । बिहीबार राति छविलाल लिम्बूको घरबाट शुरु भएको आगलागीमा शुरुमै ग्यास सिलिण्डर विष्फोट हुँदा आगो चारैतिर अनियन्त्रित भएर फैलिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो ।

शुक्रबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरले अग्निपीडितमध्ये विस्थापित भएका १६ परिवारलाई नगद १० हजार र अन्यत्र बसोबास भएका चार परिवारलाई पाँच हजारका दरले राहत वितरण गरेको अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरमार्फत प्रति परिवार दुई थान त्रिपाल, दुई थान कम्बल, १७ मिटर कपडा, एउटा साडी र एक सेट भाडाकुँडा वितरण गरिएको उपशाखाकी अध्यक्ष कुसुम कोइरालाले जानकारी दिनुभयो ।

आगलागी स्थलमा पुगी आज बिहान प्रदेश सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, मेचीनगरका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, नेकपाका प्रदेश सदस्य विष्णु प्रसाईलगायतले पीडितसँग भेटघाट गर्नुभएको छ । प्रजिअ दाहालले जिल्लाको विपद् कोषबाट नगरपालिकामार्फत प्रत्येक परिवारलाई १० हजारका दरले राहत दिइने बताउनुभयो ।
रासस

Skip This
Skip This
Logo