काठमाडौं । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफिया आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’का सेवाग्राहीसँग भेटघाट गरेकी छन् ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले विसं २०७४ देखि सेवा सुरुआत गरेको थियो । अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।
अधिराजकुमारी सोफिया ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)’ को ‘ग्लोबल एम्बेस्डर’ (विश्व सद्भावनादूत) हुन् । विश्वबाट नै उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने अभियानमा सक्रिय उनले आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्वव्यापी रुपमा कार्य गर्दै आएकी छन् । ‘आइएपिबी’ विश्वका आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ/संस्थाको साझा छाता सङ्गठन हो ।
सो अवसरमा अधिराजकुमारी सोफियाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च सराहना गर्दै आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन सुझाव दिएको जनाइएको छ ।
नेपाल नेत्रज्योति सङ्घले आफ्ना सञ्जालमार्फत नेपालमा आँखा उपचार सेवा प्रवाह गरिरहेको र वार्षिक सङ्घको सञ्जालमार्फत हजाराैं आँखाका बिरामीले निःशुल्क आँखा उपचार प्राप्त गरिरहेका छन् । नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको ट्रकोमा रोगलाई निवारण गर्न सफल भएको जानकारीबाट अधिराजकुमारी सोफिया अत्यन्तै प्रभावित समेत हुनुभएको सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिए ।





























प्रतिक्रिया