काठमाडौं
संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएकै दिन सरकारले प्रतिपक्षीको चर्को आलोचना सामना गर्नुपरेको छ । जारी स्थायी समिति बैठकमै सरकारको कामकारबाहीमा आलोचना खेपिरहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसद् बैठकको पहिलो दिन नै प्रतिपक्षीको निशानामा परेको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारका कामकारबाहीबारे बचाउ गरे लगत्तै प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको आलोचनामा उत्रिए ।
सरकारले काम गर्नुको साटो कांग्रेस नेतृत्वको पूर्वसरकारले गरेको कामलाई आफूले गरेको प्रचार गरेको भन्दै देउवाले बैठकमै असन्तुष्टि व्यक्त गरे । उनको असन्तुष्टि यतिमा मात्र सीमित रहेन । उनले ‘प्रधानमन्त्रीले नै ठगेको’ अभिव्यक्तिसमेत दिए ।
देउवा भन्दा अघि बोलेका नेकपा अध्यक्ष दाहालले सरकारले गरेका काम धेरै राम्रा भएको भन्दै सरकार दुई तिहाइको भए पनि निर्धक्कसँग काम गर्न नपाएको बताएका थिए । अध्यक्ष दाहालले सरकार सञ्चालन प्रणाली, कानुन र कर्मचारीतन्त्रलाई मिलाएर अघि बढ्न खोज्दा झमेला आइपरेको बताए ।
दाहालको बचाउपूर्ण मन्तव्यपछि रोस्ट्रममा उभिएका देउवाले आफ्नो पालामा सामाजिक सुरक्षा ऐन ल्याएर सुरु गरेको कामलाई अहिलेको सरकारले आफूले गरेको भन्दै प्रचार गरेकोमा आक्रोश पोखे । ‘मेरो नेतृत्वमा संसद्बाट पारित सामाजिक सुरक्षालाई आफ्नै कार्यक्रम भनेर अहिलेको सरकारले पोस्टर टाँगेर भड्किलो प्रचार ग¥यो,’ उनले भने, ‘उनीहरू आफैंले गर्नु नि ? मैले गरेको कामलाई किन आफ्नो भन्नु ? हद हुन्छ नि , मेरो कामलाई आफ्नो सरकारले निर्णय ग¥यो भन्दै हिँड्न पाइन्छ ?’
अमेरिकाले नेपालको पूर्वाधार विकासनिम्ति ५० अर्ब अनुदान दिने सम्झौता पनि आफ्नो पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले गरेको उनले दाबी गरे । वर्तमान सरकारले यो कार्यक्रमको पनि श्रेय लिएको भन्दै आपत्ति जनाए । ‘मेरा पालामा अर्थमन्त्री ज्ञानेन्द्र कार्की आफैं अमेरिका गएर सहीछाप गरेका हुन् त्यसमा,’ उनले भने, ‘यो काम पनि अहिलेको सरकार आफैंले गरेको भन्छ, जनतामा भ्रम फैलाउने गर्नु भएन नि ’ उनले प्रधानमन्त्रीले नै जनता ठगेको बताए । ‘यो देशमा अरूले त ठगेठगे, कम्तीमा प्रधानमन्त्रीले त यसो भन्न भएन नि , काम गर्नुस् न आफैं, अर्काका कामलाई किन आफ्नो भन्नु ?’
राजधानीबाट































प्रतिक्रिया