काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान महासंघ) ले आयोजना गरेको ‘क्यान इन्फोटेक–२०२५’ आजबाट सम्पन्न भएको छ । भृकुटीमण्डपमा माघ २४ गतेदेखि सञ्चालनमा आएको क्यान इन्फोटेक सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा आएको नयाँपनको सन्देश दिँदै सम्पन्न भएको हो ।
प्रत्येक वर्ष आयोजना हुने ३०औं संस्करणको यस इन्फोटेक मेलामा एआई साथै आईटीका सामानहरू आम अवलोकनकर्ताको आकर्षणमा थियो । पाँच दिनसम्म सञ्चालित यो एक्स्पो अवधिभर करिव २ लाख बढी अवलोकनकर्ताहरूले अवलोकन गरेको क्यान महासंघले जानकारी दिएको छ ।
डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचना प्रविधिका पूर्वाधार सिर्जनामा यो एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले बताइन् । आइटीको कुम्भ मेलाका रूपमा हेरिएको क्यान इन्फोटेकमा १५० भन्दा बढी स्टलहरू थिए ।
एक्स्पो अवधिभर व्यवसायी तथा विद्यार्थीले आफूसँग भएका प्रविधिहरूको प्रदर्शन गरेका छन् । प्रविधिले दिन प्रतिदिन फड्को मारिराख्दा नेपालमा पनि सफ्टवेयर लगायतका आईटी प्रडक्ट उत्पादनमा युवा लाग्नु निकै उत्साहजनक विषय रहेको पनि पाण्डेले जानकारी दिइन् ।
प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्न ग्राहकका आवश्यकता थाहा पाउने, नयाँ उत्पादन सार्वजनिक गर्ने र ग्राहकसँग सम्बन्ध स्थापना गर्न यो एक्स्पोले निकै सहजीकरण गरेको बताइएको छ । एक्स्पोमा नयाँ प्रविधि आकर्षणमा पर्दै, आम उपभोक्तालाई प्राविधिक विषयमा प्रत्यक्ष जानकारी दिएर उपलब्धिमूलक हिसाबले एक्स्पो सम्पन्न भएको पाण्डेको भनाई छ ।
उपभोक्ताहरूलाई आकर्षक छुट र प्रविधिको विविधता उपलब्ध गराइएको क्यान इन्फोटेकले प्रविधि प्रेमीहरूका लागि नवीनतम डिजिटल उपकरण र सेवाहरू अन्वेषण गर्ने एक उत्कृष्ट मञ्च प्रदान गरेको छ ।





























प्रतिक्रिया