कालीकोटका आगलागी पीडितलाई सहयोग र क्षतिपूर्ति दिन आग्रह

कालीकोटका आगलागी पीडितलाई सहयोग र क्षतिपूर्ति दिन आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सभामुख कृष्णबहादुर महराले कालीकोट पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीमा परी घाइते भएका नागरिकहरुलाई स्वास्थ्योपचारको उचित व्यवस्था गर्न र उचित क्षतिपूर्ति दिलाई राज्यको प्रत्याभूति दिलाउन सङ्घ तथा प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।

सभामुख महराले मंगलबार एक वक्तव्यमार्फत पुसको चिसोमा घरबारविहीन भएका नागरिकको तत्काल अल्पकालीन बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रुपमा यस्ता दुर्घटना रोक्नका लागि खर, फुसका छाना भएका घरहरु हटाउनेतर्फ विशेष पहल गर्नसमेत अनुरोध गर्नुभएको छ ।

आगलागीबाट ८७ घर जलेको खबरले आफूलाई दुखित तुल्याएको उल्लेख गर्दै उहाँले अकल्पनीय र निकै पीडादायी आगलागीको घटनाबाट प्रभावितलाई विपत्तिको सामना गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

आइतबार मध्यरातिदेखि भएको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट सात जना स्थानीयवासी घाइते र थुप्रै पशुचौपायाको मृत्यु हुनाका साथै करोडौँको धनमाल जलेर नष्ट भएको थियो ।

सभामुख महराले आगलागी पीडितलाई दुःखको यस घडीमा धैर्यधारण गरी कठिनाइको सामना गर्न आग्रह गर्दै राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिद्वारा दुःख व्यक्त

यता राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ ।

उहाँले आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यही पुस ८ गते आगलागी हुँदा कालीकोटका पताला गाउँमा ८७ घर नष्ट भएको थियो ।
रासस

Skip This
Skip This
Logo