निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

केन्द्रबिन्दु
15
Shares

वीरगञ्ज (पर्सा) । वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।

वर्षायाममा जमेको पानीले अहिले पनि खेत भरिएका छन् । किसानले बाली लगाउन छैनन् । वीरगञ्ज महानगर– २६ का किसान भगीरथप्रसाद कुर्मीले विगत छ महिनादेखि खेतीयोग्य जमिन डुबानका कारण बाली लगाउन नपाएको दुखेसो पोखे । “वर्षात्देखि खेतीयोग्य जमिनमा पानी जमेको जम्यै छ, पानी जमेकै कारणले धान पनि काट्न परेन । हिउँदयाम सुरु भयो । डुबानले गहुँखेती गर्न पाएका छैनन्”, उनले भने।

किसान कुर्मीको १५ कट्ठा क्षेत्रफलको धान तथा अन्य बाली खेती गर्ने जमिन डुबानका कारण बेकामे भएको छ । “डुबानको समस्या लिएर धेरै निकाय धाइसक्यो । तर, हाम्रो समस्या भने जस्ताको तस्तै छ, कम्तीमा वर्षायामअगावै डुबान समस्या अन्त्य गरिदिए हुन्थ्यो”,उनले भने । उनको जस्तै समस्या वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सुदामाकुमार द्विवेदीले पनि भोग्दै आएका छन्। वर्षायाममा परेको पानीको उचित निकास नहुँदा २१ कट्ठा खेतमा लगाएको धान काट्न नपाएको उनको गुनासो छ । “असारमा धान रोपेका थियौँ । एकमुठी धान पनि भित्र्याउन पाएनौँ, यस्तै अवस्था रहने होभने बालबच्चा र परिवार कसरी पाल्ने रु”, द्विवेदीले चिन्ता व्यक्त गरे ।

पछिल्लो समय परवानीपुर–एकीकृत जाँचचौकी छ लेनको सडक, हुलाकी राजमार्ग, अलौँ अठराहा सडक, एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहलगायत संरचना निर्माण भएसँगै प्राकृतिक पानीको बहाव रोकिएपछि डुबानको समस्या भएको हो ।

विगतमा अलौँबाट पानीको निकास हुँदै आइरहेको थियो । तर, विभिन्न खालका पूर्वाधार संरचना निर्माण भएपछि प्राकृतिक रूपले पानीको बहाव रोकिएपछि किसानको खेत तथा घरमा डुबानको समस्या परेको हो ।

वीरगञ्ज महानगर–२४ बहुअरीका अनिल तिवारीले खेतीयोग्य जमिन मात्र नभएर चारवटै वडावासीको घरमा पानी जम्ने समस्या रहेको बताए । “चारवटै वडाका विभिन्न घर डुबानमा परेका छन्”, उनले भने, “तीन–चार फिट जमेको पानीमा हिँडेर घर जानुपर्ने समस्याबाट स्थानीय गुज्रिँदै आइरहेका छन् ।” महानगर–२६ मा २०, वडा नं २४ मा ३५ घर र वडा नं २५ मा एक दर्जनभन्दा बढी घर डुबानमा परेको बताइएको छ ।

वीरगञ्ज महानगर–२६ का कार्यवहाक वडाध्यक्ष प्रदीप पटेल सडकलगायत पूर्वाधार निर्माणले प्राकृतिक रूपमा पानीको निकास बन्द हुँदा डुबानको समस्या भएको बताए । “विगतमा यस्तो समस्या थिएन । वर्षात्को पानी असोज–कात्तिकसम्म सुकिसक्थ्यो, अहिले पानीको निकास नहुँदा कहिलेसम्म डुबानको समस्या रहने हो भन्ने शङ्का उत्पन्न भइरहेको छ”, उनले भने । वीरगञ्ज महानगरले गत कात्तिकमा खेतीयोग्य जमिनमा डुबानको समस्या देखिएपछि अलौँबाट शिवजी मिलसम्म तीन फिट गहिरो नाली खनेको थियो । तर, स्थानीयवासीले अस्थायी नाली पुरिदिएसँगै सो समस्या यथावत् नै रहेको उनले जानकारी गराए ।

“अलौँबाट शिवजीको मिलसम्म एक किलोमिटर डोजर लगाएर अस्थायी रूपमा तीन फिट चौडा भएको पानीको निकास गर्ने प्रयास गरेका थियौँ । तर, ह्युमपाइप नहुँदा घरनजिकैका बासिन्दाले नाली परिदिँदा पनि अहिलेको समस्या उत्पन्न भएको हो” उले भने । करिब एक किलोमिटर ह्युमपाइप भएको खण्डमा सो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने उनको धारणा छ।

वीरगन्ज महानगरपालिकाका योजना शाखाका सबइन्जिनियर कुन्दन ठाकुरले भने “गत कात्तिकमा डोजरले तीन फिटको नाली खनेर अस्थायी ढङ्गले पानीको निकास गर्ने प्रयास गरेका थियौँ । तर स्थानीयवासीको अवरोधको कारणले अहिले पानीको निकास हुन सकिरहेको छैन” ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरको विभिन्न चार वडामा देखिएको डुबानको समस्या समाधान गर्न तीन तहका सरकारसँग समन्वय भइरहेको जानकारी दिए । “डुबान प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरिसकेका छौँ”, उनले भने, “सरोकार भएका निकायसँग समन्वय गरेर समस्याको गाँठो फुकाउने प्रयास जारी छ ।”

Skip This
Skip This
Logo