अस्थिर नेताका अस्थिर सरकार, जनताले कहिलेसम्म आस गर्ने ?

अस्थिर नेताका अस्थिर सरकार, जनताले कहिलेसम्म आस गर्ने ?


काठमाडौं । नेपाली राजनीतिमा पुराना र अनुभवी भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुलाई जसरी भएपनि सत्ता र शक्ति नै चाहिन्छ भन्ने कुराको पछिल्लो केही वर्षको राजनीतिक अवस्थाले प्रष्ट पार्छ ।

२०७९ को चुनावपछि अहिलेसम्म पाँच पटक सरकार फेरियो । सरकार त फेरियो तर नेतृत्व आलोपालो गरेर नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाकै वरिपरी रह्यो । २६ पुस २०७९ मा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर प्रचण्डको नेतृत्वमा पहिलो पटक सरकार बन्यो । यस्तै, ६ चैत २०७९ मा करिब दुई महिनामा दोस्रो पटक माओवादी/कांग्रेसको सरकार बन्यो ।

करिब ११ महिनामै ३० फागुन २०८० मा फेरि माओवादी/एमाले मिलेर तेस्रो पटक सरकार बन्यो । तेस्रो पटकको सरकारबाट जनता समाजवादी नेपाल पार्टी फुटेर उपेन्द्र यादव समूह सरकारबाट बाहिरिएपछि प्रचण्ड सरकार अल्पमतमा पर्यो । त्यसपछि एमालेकै समर्थनमा ७ जेठ २०८१ मा विश्वासको मत पाएर चौथो पटक प्रचण्डले सरकारको नेतृत्व गरे ।

प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेले विश्वासको मत फिर्ता लिएर कांग्रेससँग सत्ता सहकार्य गर्न लागेपछि प्रचण्ड सरकार ढल्यो । त्यसपछि कुनै पार्टीसँग सहकार्य नगरी पाचौँ पटक प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत मागे । तर विश्वासको मत प्राप्त नहुँदा प्रचण्डको पाँचौँ पटक प्रधानमन्त्री बन्ने र सत्तामा टिकिरहने सपना तुहियो । यसबीचमा प्रचण्डले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितलाई साथमा लिँदै एमालेसँग दुई पटक र कांग्रेससँग एक पटक सत्ता समीकरण गरेका थिए ।

२०७९ को चुनावमा ओली, प्रचण्ड र देउवा नेतृत्वका तीन वटै दलले सँगै स्वागत गरेपछि बनेको सरकार सत्ताको लोभमा मात्रै सीमित रह्यो । पाँच/पाँच पटक सरकार फेरियो तर नेतृत्व भने ओली, प्रचण्ड र देउवाकै वरिपरी रह्यो ।

यी शीर्ष नेता नेपाली राजनीतिक क्षेत्रका तीन खम्बाका रुपमा देखिन्छन् तर त्यो जनताको हक हितका लागि काम गर्न होइन, सरकार ढाल्न र सत्ता समिकरण निर्माण गर्न मात्रै देखिएका छन् । तर आश्चर्यलाग्दो, कुरा भने तीन वटै प्रधानमन्त्रीहरुले आफ्नो कार्यकाल कहिल्यै पूरा गर्न सकेनन् । संविधानले व्यवस्था गरेअनुसार प्रधामन्त्री कार्यकाल पाँच वर्षको हुन्छ । तर नेपाली राजनीतिमा २०७९ को चुनाव पछि नै पाँच पटक सरकार फेरबदल भइसक्यो ।

अहिले कांग्रेस/एमालेको दुई तिहाइको शक्तिशाली सरकार भएपनि प्रमुख प्रतिपक्षमा रहेका प्रचण्डले सरकार लामोसमय नटिक्ने टिप्पणी बेला बेला दिइरहेका छन् । उनी आफूहरु सरकार ताकेर बसेको त स्विकार्दैनन् तर, सरकार ढल्ने भने भविष्यवाणी गर्छन् । सत्तारुढ दलका नेताहरु भने सरकार ०८४ सम्म जाने प्रतिक्रिया दिन्छन् । किनकी ०८४ मा निर्वाचन हुनेछ । यसबीचमा जनताको पक्षमा निर्णय गर्नु त परको कुरा, अझै तीन वर्षपछि को मिसन ८४ को चर्चा गर्न अभ्यस्त देखिन्छन् ।

सुरुवात गरौँ दुई तिहाइ सरकारका वर्तमान प्रधानमन्त्री ओलीबाट ।

एमाले अध्यक्ष एवं झापालाई प्रतिनिधित्व गर्ने सांसद केपी शर्मा ओली संसदको ठूलो दल कांग्रेसको समर्थनमा हाल चौथोपटक प्रधानमन्त्रीमा वहाल छन् । माओवादीसँग सहकार्यमा ब्रेक लगाउँदै गत असार १७ गते मध्यरातमा कांग्रेससँग संविधान संशोधन लगायतका एजेण्डासहित ७ बुँदे सहमति गरेर सिंहदरबार छिरेका हुन् ।

विसं २०७२ मा करिब १० महिना, विसं २०७४ मा करिब ४० महिना र विसं २०७९ मा करिब ३ महिना र २०८१ साल असार ३० गते फेरि चौथो पटक प्रधानमन्त्री बनेका हुन् । ओलीका प्रशंसक र आलोचक उत्तिकै छन् । उनलाई आम सर्वसाधार व्यक्तिदेखि राजनीतिक व्यक्तित्वहरुले राजनीतिमा चतुर खेलाडी बनेर टिप्पणी गर्छन् । ओलीले ५ पुस २०७७ पहिलो पटक र ८ जेष्ठ २०७८ मा दोस्रो पटक गरी दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए ।

चौथो पटक प्रधानमन्त्री बनेको करिब ७ महिना वित्नै लाग्दा पनि सरकारले चाहे अनुसारको काम गर्न नसकेको ओली स्वयं र सत्तापक्षका अधिकांश नेताहरुले स्वीकारेका छन् । चौथो पटकको प्रधानमन्त्रीको कार्यकालमा के स्वयं आफूले लगाएको नारा ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपना ओलीले पूरा गर्न सक्लान् ?

अब कुरा गरौं, संसदकै सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाको । उनी सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने नेपालका जिवित नेता हुन् । विद्यार्थी राजनीतिदेखि राजनीतिक यात्रा सुरु गरेका देउवा पहिलो पटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म, दोस्रो पटक २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म, तेस्रो पटक २०६१ जेठ २१ गतेदेखि २०६१ माघ १९ गतेसम्म , चौथो पटक २०७४ जेठ २४ गतेदेखि ३ फागुन सम्म करिव ७ महिना र पाचौँ पटक २०७८ असार २९ गतेदेखि २०७९ पुस १० सम्म गरी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् ।

देउवा अब छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारी छन् । किनकी एमाले र कांग्रेसको अहिलेको गठबन्धन आलोपालो सरकारकै लागि हो । ओलीले सार्वजनिक कार्यक्रममा होस् या आन्तरिक, पटकपटक केही महिनामै देउवालाई सहमतिअनुसार नै सत्ता हस्तान्तरण गर्ने भनी मिति नै तोकिसकेका छन् ।

पञ्चायतविरोधी राजनीति गर्दा देउवा ९ पटक जेल परेका थिए, जुन उनको नेपाली राजनीतिमा एउटा परिचय नै हो । गिरिजाप्रसाद कोइरालासँगको अन्तरद्धन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेसलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए भने २०६२ र ६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो । उनले दुई पटक कांग्रेस सभापतिको जिम्मेवारी पाइसकेका छन्, तेस्रोपटक पनि प्रयास नगर्लान् भन्न सकिन्न ।

यता, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड ‘वेटिङ प्राइम मिनिष्टर’ हुन् । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री भनेर चिनिने प्रचण्ड विसं २०७९ सालको संसदीय निर्वाचनपछि प्रचण्ड पुस १० मा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संसदीय राजनीतिमा आएपछि कहिले एमाले र कहिले कांग्रेस त कहिले मधेशवादीसहित साना दलहरूसँग मिलेर गठबन्धन फेरि नै रहन्छन् ।

शक्तिशाली, निडर नेताका रुपमा आफ्नो छवि वनाएका प्रचण्डले २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएपछि आफ्नै नेतृत्वमा रास्वपा, राप्रपा लगायत साना दलहरुलाई साथमा लिएर कहिले एमाले/माओवादी त कहिले कांग्रेस/काओवादी गरी चार पटक सत्तामा टिकिरहे । तर पाँचौ पटक भने प्रचण्डको त्यो चाल एमाले/कांग्रेसले टिक्न दिएनन् र संसदका दुई ठुला दल भनिने कांग्रेस/एमाले मिलेर सरकार बनाए । उनले अहिलेसम्म पूरा कार्यकाल देशलाई हाँक्न सकेका छैनन् ।

प्रचण्ड पहिलो पटक २०६५ साउन ३२ देखि २०६६ जेठ ११ सम्म १० महिना, दोस्रो पटक २०७३ साउन १९ देखि २०७४ जेठ ३२ सम्म १० महिना, तेस्रो पटक २०७९ पुस १० देखि २०८१ असार २८ सम्म १८ महिना गरी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । तीन पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डको तेस्रो कार्यकाल भने रोचक रह्यो । तेस्रो पटकको १८ महिनाको प्रधानमन्त्रीको कार्यकालमा ४ पटक प्रधानमन्त्री बने भने पाँचौं पटक प्रधानमन्त्री बन्ने इच्छा भने विश्वासको मत नपाएर अपुरै रह्यो ।

माथि नै उल्लेख गरिएअनुसार प्रचण्ड २६ पुस २०७९ मा पहिलो पटक, ६ चैत २०७९ मै दोस्रो पटक, ३० फागुन २०८० मा तेस्रो पटक, ७ जेठ २०८१ मा चौथो पटक गरेर चार पटक विश्वासको मत त पाए तर, २८ असार २०८१ मा भने विश्वासको मतसँगै प्रधानमन्त्री पद पनि गुमाए ।

असार २८ गते सत्ता गुमाएमा प्रचण्डले अहिले राजनीतिक वा गैरराजनीतिक कार्यक्रमहरुमा कांग्रेस/एमाले गठबन्धित सरकार असंवैधानिक, अलोकतान्त्रिक र अप्राकृतिक भएको र धरै समय नटिक्ने टिप्पणी गरिरहेका छन् । अहिले आफ्ना पार्टीका संघ/संगठन विस्तारका लागि शुभचिन्तक र कार्यकार्तासँग भेटघाट गर्न घरदैलो कार्यक्रममा व्यस्त रहेका प्रचण्डले २०८४ मा एकल बहुमत ल्याउने तयारीका साथ काम गरिरहेको बताउँछन् ।

कुन प्रधानमन्त्रीले कति कार्यकाल विताए भन्दा पनि ओली, प्रचण्ड र देउवा तीनै जनाले आफ्नो कार्यकालमा जनाताको हकहितका लागि के गर्न सके भन्ने प्रमुख विषय हो । पटक-पटक प्रधानमन्त्री बनिसकेका तीनै जना नेताले आम नागरिकका लागि के गरे ? भन्ने प्रश्न उत्तरविहीन छ ।

Logo