काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ। वाईफाई इन्टरनेटको माध्यमबाट भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको हो।
नयाँ प्रविधिमा उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको जानकारी दिएको छ।
यो सेवाले कुनै पनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउने कम्पनीको दाबी छ। वाईफाई कलिङ्का नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला बिल्डिङका बेसमेन्टहरु र दुर्गम स्थानहरूमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ। प्रारम्भिक चरणमा यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको छ।
यसको विशेषता भनेको यो सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन। विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा सकिने छ।
भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ। कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दा गर्दै मोवाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विशेषता हो। यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरूका लागि धेरै फाइदा पुर्याउँदछ।
भोवाईफाई सेवाका साथ ग्राहकहरूलाई मोबाइल नेटवर्क समस्या भएका इन्डोर अथवा बेसमेन्ट जस्ता स्थानहरूमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई संचालनमा ल्याइएको एनसेलले जनाएको छ। कम्पनीले चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने जनाएको छ।
भोवाईफाई सेवा चलाउन एनसेल एप डाउनलोड गरि एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ। त्यस पश्चात् कुनै पनि भरपर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सकिन्छ।
सेवा एक्टिभेट गर्नुअघि, भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ् दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात् स्विच अन गरेको हुनुपर्छ। त्यसका लागि सेटिङमा गएर मोबाइल नेटवर्क भित्र गई सिम कार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोही अनुसार छानेर सक्रिय गर्नु पर्दछ। यसरी आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चलेको बुझिन्छ।
सेटिङ्मा भोवाईफाई, वाईफाई कलिङ् सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आइओएस दुवैका लागि समान रहेको छ।































प्रतिक्रिया