महेन्द्रनगर । भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एसोसिएसनबीच दक्षिण एशियाली नगरपालिका सञ्जाल सरसफाई सम्बन्धी पैरबी परियोजना सञ्चालनका लागि समझदारी पत्र (एमओय) मा हस्ताक्षर भएको छ ।
भीमदत्त नगरपालिका कार्यालयमा आइतबार भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट र नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष एवम् काठमाडौं महानगरपालिकाका नगर उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओड, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा लगायतका सहभागी भएका छन् ।
वातावरण तथा जनसंख्या संस्थाको प्राविधिक सहयोगमा नेपालका ५ नगरपालिकाकामध्ये सुदूरपश्चिम प्रदेशमा भीमदत्त नगरपालिकामा परियोजना सञ्चालन गरिएको हो । भीमदत्त नगरपालिकासहित धुलीखेल, लमही र वालिङ्ग परियोजना सञ्चालनका लागि छनौट गरिएका छन् । यो परियोजना नेपाल बाहेक बंगलादेशमा सञ्चालनमा छ ।
समझदारी पत्रमा हस्ताक्षरपछि नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष खड्कीले परियोजना सञ्चालनका लागि भीमदत्त नगरपालिका छनौट भएकोमा धन्यवाद दिदैं परियोजना नमूना बनाउन सुझाव दिइन् । भीमदत्त नगरपालिकासित गरिएको समझदारी र विकास अरु स्थानीय तहका लागि समेत अनुकरणीय बन्ने उल्लेख गर्दै उनले सहकार्य र समन्वयका आधारमा अघि बढ्नु पर्नेमा जोड दिइन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले परियोजनालाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्दै समृद्ध नगर बनाउन सहकार्य र समन्वयलाई प्राथमिकता दिएको बताए । भीमदत्त नगरपालिका त्रिदेशीय नाकाका रुपमा रहेको उल्लेख गर्दैै नगर प्रमुख विष्टले भीमदत्तको विकास र समृद्धि सुदूरपश्चिमको समृद्धिसित जोडिएको उल्लेख गरे ।
भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा मनाउन लागेको नगर प्रमुख विष्टले बताए । कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक देवकोटाले नेपाल र बंगलादेशका ५/५ नगरपालिकामा परियोजना सञ्चालन गरिएको बताए । नेपालमा देशभरबाट परियोजना सञ्चालनका लागि १० नगरपालिकाले प्रस्ताव पेश गरेका थिए ।































प्रतिक्रिया