काठमाडौं । एकातिर स्थापना भएका विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ र वैदेशिक अध्ययनमा जाने क्रम बढिरहेको छ । स्थापित विश्वविद्यालयको अवस्था लथालिङ्ग छ तर अर्काेतिर सरकारले धमाधम नयाँ विश्वविद्यालय खोल्ने अनुमति दिइरहेको छ ।
यसरी भएकै विश्वविद्यालयको व्यवस्थापन गर्न नसकेको सरकारले फेरि उही प्रकृतिको नयाँ विश्वविद्यालय खोल्ने अनुमति दिनु औचित्य हो वा होइन भन्ने प्रश्न समेत उब्जिएकाे छ ।
देशमा अहिले १३ वटा विश्वविद्यालय छन् । अब १४औं विश्वद्यालयको रुपमा नेपाल विश्वविद्यालय स्थापना हुने भएको छ । गत भदौ २४ गते प्रतिनिधि सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएसँगै नेपाल विश्वविद्यालय स्थापनाको बाटो खुलेको हाे । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको थियो ।
फरक विषयको अध्ययन गराउने हो भने देशमा विश्वविद्यालय थप्न आवश्यक रहेको शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला बताउँछन् । उनले भने, ‘यदि त्यहीं म्यानेजमेन्ट, ह्युम्यानिटिज पढाउने हो भने विश्वविद्यालय खोल्नुको कुनै तुक छैन ।
नेपालको भाषा, संस्कृति, हिमाल, भौगोलिक विविधाता, आइटि, एआईको बारेका अध्ययन गराउने हो भने नयाँ विश्वविद्यालय खोल्न आवश्यक छ ।’
नयाँ खुल्न लागेको नेपाल विश्वविद्यालयको संरक्षक परिषद्को सदस्य सूर्यराज आचार्यले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पढाउने शैली र पाठ्यक्रम निर्माण गरि पठनपाठन सुरु हुनेछ ।’
कुन विश्वविद्यालयमा कति विद्यार्थी ?
जुन विश्वविद्यालय वा क्याम्पसमा पढाई राम्रो त्यहीं विश्वविद्यालयमा विद्यार्थीको चाप बढी हुने गर्छ । तर हाल सञ्चालनमा रहेका विश्वविद्यालयको अवस्था यस्तो छ कि कतिपय विश्वविद्यालयमा विद्यार्थीको संख्या सय मात्र रहेको छ । यहाँ कुरा क्याम्पसको हैन विश्वविद्यालयको भैरहेको छ ।
विश्वविद्यालय अनुदान आयोगको २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार त्रिविमा ४ लाख ५४ हजार ६५ जना विद्यार्थी अध्ययनरत रहेको देखाएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा २ हजार ३०६, काठमाडौं विश्वविद्यालयमा १७ हजार ९४५, राजर्षि जनक विश्वविद्यालयमा ५ सय १५ रहेको छ ।
गण्डकी विश्वविद्यालयमा ३ सय १६, मनमोहन प्राविधिक विश्वविद्यालयमा १०५ र मधेश कृषि विश्वविद्यालयमा सय जना विद्यार्थी सङ्ख्या रहेको छ । विश्वविद्यालयमा विद्यार्थीको उपश्थिति मात्र न्युन होइन उत्तीर्ण दर समेत न्युन रहेको छ । त्रिविकै उत्तीर्ण दर २९.३ प्रतिशत मात्र रहेको छ । यसले प्रष्ट पार्छ नेपालका विश्वविद्यालयका अवस्था कस्तो छ भनेर ।
भएका विश्वविद्यालयको अवस्था नाजुक
नेपाल विश्वविद्यालय स्थापनाको बाटो खुलेपछि नेपालमा विश्वविद्यालयको सङ्ख्या १४ पुगेको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक वार्षिक प्रतिवेदन २०८०/८१ अनुसार अन्तर्गतका करिब ५ सय जति शैक्षिक संस्थाहरूमा १०० भन्दा कम विद्यार्थी रहेको उल्लेख छ । आयोगको रिपोर्टले हाल भएकै उच्च शैक्षिक संस्थाहरूमा विद्यार्थी अभाव छ भन्ने प्रष्ट देखाउँछ ।
तर पनि विश्वविद्यालय खुल्ने क्रम भने रोकिने छाँट छैन ।
हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूमा त्रिवि, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, खुल्ला, कृषि तथा वन विज्ञान, संस्कृत, लुम्बिनी बौद्ध, राजर्षि जनक र पोखरा विश्वविद्यालय हुन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र मधेश कृषि विश्वविद्यालय हाल सञ्चालनमा आएका छन् ।
२०७३ देखि २०७९ सम्म झन्दै ७ वटा विश्वविद्यालय खुले । यो समययमा विश्वविद्यालय खुल्ने होड नै चलेको देखिन्छ । समग्र रुपमा विश्वविद्यमालयमा भर्ना दर र विद्यार्थी सङ्ख्या घटेको देखिन्छ ।
देशमा कति र के पठनपाठन हुने विश्वविद्यालयको खाँचो छ त्यसको अध्ययन हुन आवश्यक रहेको शिक्षाविद् कोइरालाको धारणा रहेको छ । नेपालमा कति विश्वविद्यालय आवश्यक छन् भन्न सकिने अवस्था छैन । किनकी सरकारले नेपालमा विश्वविद्यालयको आवश्यकता हो त्यस विषयमा गहन अध्ययन नै भएको छैन ।
कुन–कुन विषय अध्यापन हुने विश्वविद्यालयको आवश्यकता हो ? आवश्यक जनशक्ति उत्पादन गर्न कुन विश्वविद्यालय सक्षम छ ? विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति कहाँ खपत भइरहेको छ ? भनेर पनि कुनै व्यवस्थित अध्ययन भएको छैन ।
नेपालका लागि कति वटा र कुन क्षेत्रमा विश्वविद्यालय आवश्यक छन् भन्ने दृष्टिकोणबाट, दोस्रो राष्ट्रिय जनशक्ति विकास अथवा मानव संशाधन विकासको दृष्टिकोणबाट र अर्को ‘ग्लोबल ट्रेन्ड’ को दृष्टिकोणबाट यसको अध्ययन हुनुपर्नेमा शिक्षाविद्हरुको एकमत रहेको छ । आर्थिक लाभका कारण विश्वविद्यालयले मनपरी सम्बन्धन दिँदा विश्वविद्यालयको गुणस्तर खस्कँदै गएको छ । त्यसैले विश्वविद्यालयले कति क्याम्पसलाई सम्बन्धन दिन मिल्ने हो त्यसको टुङ्गो लाग्न पनि आवश्यक रहेको छ ।
१४औं विश्वविद्यालयको रुपमा नेपाल विश्वविद्यालय
नयाँ विश्वविद्यालय, नेपाल विश्वविद्यालयमा उपकुलपति, रेक्टर, रजिस्ट्रार, डिन तथा अन्य पदाधिकारीहरुको नियुक्ति बोर्ड अफ ट्रस्टबाट नियुक्ति गरिने भनिएको छ । गैरसरकारी क्षेत्रको विश्वविद्यालयका रूपमा स्थापना गर्न लागिएको उक्त विश्वविद्यालयमा प्रधानमन्त्री तथा शिक्षा मन्त्री पदाधिकारी नहुने गरी प्राज्ञिक व्यक्ति कुलपति रहने छन् । नेपालका खुलाबाहेक सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहकुलपति हुने व्यवस्था छ ।
खुला विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति हुने व्यवस्था छ । तर नेपाल विश्वविद्यालयमा प्राज्ञिक व्यक्तिलाई नै कुलपति बनाइने छ । संरक्षक परिषद्मा कुलपति अध्यक्ष, उपकुलपति, विश्वविद्यालय रहेको प्रदेशको प्रदेश सरकारले मनोनीत गरेको शिक्षाविद् एक जना, विश्वविद्यालय रहेको स्थानीय तहको प्रमुख, शिक्षाविदमध्येबाट एकजना र नेपालमा विश्वविद्यालय स्थापना वा सञ्चालनमा योगदान पुर्याएका प्राज्ञिक व्यक्तिमध्येबाट कम्तीमा दुई महिलासहित पाँचजना सदस्य रहने व्यवस्था विश्वविद्यालय विधेयकमा छ ।
नेपाल विश्वविद्यालयले अन्य विश्वविद्यालयको जस्तो क्याम्पसहरुलाई सम्बन्धन नदिने तर ३ देखि ४ वटासम्म आंगिक क्याम्पसको स्थापना गर्ने विश्वविद्यालयको संरक्षक परिषद् सदस्य आचार्यले बताए ।
कस्तो पाठ्यक्रम पढाई हुने ?
नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याउन नेपाल विश्वविद्यालय स्थापना गर्न लागेको विश्वविद्यालयको संरक्षक परिषद् सदस्य आचार्यले बताए । साथै अनुसन्धानमार्फत दक्ष, सिर्जनशील र प्रतिष्पर्धी मानव स्रोतको उत्पादन गर्नमा जोड दिईने समितिले जनाएको छ ।
विश्वविद्यालयले कानुनअनुसार सबै संकाय सञ्चालन गर्न सक्छ । मूलतः विज्ञान संकाय र मानविकी संकायका कक्षा सञ्चालन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी, विज्ञान, इन्जिनियरिङलगायत संकायको पठनपाठन सुरु गरिने विश्वविद्यालय व्यवस्थापन पक्षले जनाएको छ ।
स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुनेछ । यस संकायअन्तर्गत अर्थशास्त्र तथा वित्तीय नीति, दिगो नीति, भौतिक पूर्वाधार तथा योजना नीति, पूर्वाधार नीति, सार्वजनिक नीतिलगायत विषयको कक्षा सञ्चालनको तयारी भएको पूर्वाधार विकास समितिले बताएको छ । यद्यपि उक्त विश्वविद्यालयको भौतिक संरचना अझै बन्न सकेको अवस्था छैन र शैक्षिक गतिविधिसमेत सुरु भएको छैन ।
तर पनि विश्वविद्यालयको कुलपतिको रुपमा डा. बिन्दुनाथ लोहनी नियुक्त भैसकेका छन् ।
नेपाल विश्वविद्यालय नेपालको १४ विश्वविद्यालयको रुपमा स्थापित भएको छ भने तिलगंगा विश्वविद्यालय विधेयक २०८१ विचाराधीन छ । तत्कालिन शिक्षामन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेकी थिइन् । त्यस्तै, ख्वप विश्वविद्यालयको स्विकृत अन्तिम चरणमा पुगेको बताइएको छ ।































प्रतिक्रिया