काठमाडौं । दरबारमार्ग अति व्यस्त, पर्यटकहरूको बढी चहलपहल हुने क्षेत्र हो । त्यति मात्र होइन यो क्षेत्र नारायणहिटी दरबार अगाडि नै अवस्थित छ । यहाँ किनमेल, मनोरञ्जन गर्न रुचाउनेदेखि बैंक र वित्तीय क्षेत्रको काम हुनेहरूको आउजाउ हुन्छ । राजदरबारभित्र रहेको नारायणहिटी दरबार संग्रहालयकाको अवलोकन गर्न देशैभरका नागरिकको चहलपहल अधिक मात्रामा हुने गर्छ ।
यसैलाई मध्यनजर गर्दै पैदलयात्रीलाई पैदलयात्रा गर्न सहज होस् र सडक पेटि पैदलमैत्री हुनुपर्छ भन्ने उदेश्यका साथ काठमाडौं महानगरपालिकाले दरबारमार्गमा ग्रेनाइट बिछ्याउने काम सुरु गरेको छ ।यो काम सकिएसँगै दरबारमार्ग क्षेत्रको सडक खुला, चिटिक्क परेका सडकपेटि, सिंगो दरवारमार्ग नै सुन्दर देखिने पक्का छ । महानगरको सोहि कामलाई नगरबासीहरुले प्रशंसा गरेका छन् ।
कसरी हुँदैछ ग्रेनाइटको काम ?
काठमाडौं महानगरले दरवारमार्गमा धमाधम ग्रेनाइट बिछ्याइरहेको छ । महानगरको वडा नं १ मा पर्ने दरवारमार्गमा ग्रेनाइट लगाउने कामको थालनी गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘सौन्दर्यताको लागि गरिएको कार्यक्रमअन्तर्गत ग्रेनाइट लगाउने काम सुरु गरिएको हो ।’
उक्त योजना आर्थिक वर्ष २०८०/८१ को महानगरको गौरव योजनाका अनुसार ग्रेनाइट बिछ्याउने काम भैरहेको महानगरले जनाएको छ । ग्रेनाइटको लागि महानगरले ५ करोड १४ लाख रहेको छ भने १८ सय ७७ वर्ग फिटमा ग्रेनाइट लगाइनेछ ।
यसै वर्षमा काम सम्पन्न गर्ने लक्ष्य महानगरले लिएको छ तर निर्माण कम्पनी भने म्याद थप्ने तयारीमा रहेको छ । नारायणहिटी संग्रहालयअगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइँदै छ । दरबारमार्ग क्षेत्रको पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ । ति सबै क्षेत्रमा ग्रेनाइट लगाउने काम भैरहेको छ ।
महेन्द्र शालिक तर्फबाट दायाँतिर अहिले काम भैरहेको छ । उक्त क्षेत्रमा १६ मिलिमिटर मोटाई भएको गे्रनाइट प्रयोग गरिदै लगाइँदै छ । माघ २७ गते देखि ग्रेनाइट सेटिङ गर्ने कामको सुरु गरिएको हो । सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ ।
ग्रेनाइट बिछ्याउनको लागि सुरुमा व्रिक सोलिङ गरि त्यसपछि पिसिसी ढलानको काम समापन गरि त्यसभन्दा माथि ग्रेनाइट बिछ्याउने काम भैरहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फास्टकचर प्रा.लि.ले काम गरिरहेको छ । २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको थियो ।
चिप्लिने जोखिम हुन्छ कि हुँदैन ?
सडकपेटीमा ग्रेनाइट बिछ्याए पछि सफा चिटिक्क देखिएता पनि वर्षाको समयमा चिप्लिएर लड्ने पो होकी भन्ने डर सर्बसाधारणमा देखिएको छ । यहि विषयमा महानगरसंग बुझ्दा महानगरका प्रवक्ता मानन्धरले ग्रेनाइट चिप्लिने वस्तु भएकाले दरबारमार्गसमा बिछ्याइएको ग्रेनाइट पनि चिप्लिने भएको जानकारी दिए ।
तर सडक पेटिमा हिँड्दा सजगता अपनाएर हिँड्नुपर्ने सुझाव पनि दिए । उनले भने, ‘ग्रेनाइट चिप्लिने वस्तु हो, घरमा पनि प्रयोग गरिएको हुन्छ तर त्यस्तो चिप्लिएर लडेको घटना सुनिँदैन । त्यसैले यसलाई सकारात्मक लिनुपर्छ ।’
प्रवक्ता मानन्धरले चिप्लिने वस्तु हो त्यसैले सजग भएर हिँड्दा केहि नहुने बताउँदा महानगरका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने ग्रेनाइटको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नरहेको बताएका छन् । त्यस्तै, निर्माण कम्पनीका पदाधिकारीहरु पनि चिप्लिने डर नभएको बताइरहेका छन् ।
प्रशंसासँगै आलोचना
काठमाडौं महानगरले दरबारमार्गमा ग्रेनाइटले बिछ्याउने कामको सुरुवात भएसँगै नगर प्रमुख बालेन शाहको चुनाव अगाडिको भिडियोलाई लिएर सामाजिक सञ्जालमा कुरा र कामको तालमेल नमिलेको भन्दै आलोचना भैरहेको छ । उनले उक्त भिडियोमा काठमाडौंलाई कसरी विकास विकास गर्न सकिन्छ यसको योजना सुनाउँदै भनेका छन् –
“तपाईंले यी कुरा नबुझिकन त्यत्तिकै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । मोर्डन देखिन्छ भनेर बबाल खालको टाइल लाइदिम् यहाँनेर मार्बल लाइदिम् भनेर भएन नि त !
मार्बल किन लाइँदैन भन्दा यो चिसो ठाउँ हो । यहाँ खुट्टा ठिहिर्याउँछ, तपाईं हिंड्दै सक्नुहुन्न । इट्टा त त्यति चिसो हुँदैन नि त ! ईंट्टामा तपाईं खाली खुट्टा नै हिंड्नुभयो भने पनि त्यति चिसो हुँदैन । काठमाडौं भनेको चिसो ठाउँ हो नि त !
यहाँ प्लानिङ भएको सबै चिज साइन्टिफिक थियो । यहाँको पोखरी, मन्दिर, स्तुपा र चैत्यहरू सबै साइन्टिफिकल्ली यहाँनेर सबै मेन्टेन, टेक्नोलोजी र साइन्सको कुरा गर्नुहुन्छ भने यहाँ हाइ लेभलको प्रविधि र साइन्सलाई बुझेर कसैले यहाँ इन्जिनियरिङ गर्छ, आर्किटेक्चरको डिजाइन गर्छ भने यो सबै बुझेर गर्नुप¥यो ।
अब टुरिजम् बढाउन तपाईं न्यूरोड जानुहुन्छ । सिसा र एसी लगाएको छ, के लगाएको छ । त्यहाँनेर फसाडहरूमा इट्टा र काठ एक्पोज हुनेगरी राखेको भए त्यहाँनेर तपाईंलाई गएपछि फर्कन मन लाग्दैन थियो । अहिले त कतिखेर काम सकौं र न्यूरोडबाट फर्कौं जस्तो हुन्छ । त्यहाँनेर हाम्रो कल्चर नै प्रिजर्भ भएन नि त !
यी दुई विषयलाई दाँजेर आलोचना भैरहेको हो । तर मेयर बालेनको टिमले गरेको कामको प्रसंशा पनि उत्तिकै मात्रामा ओइरो लाग्ने गर्छ ।
कसरी सजाउँदै छन् बालेनले अन्य क्षेत्र ?
आलोचकहरुले जे जस्तो भने पनि मेयर बालेनले आफ्नो बाचाअनुसार महानगरलाई नेवाः संस्कृति झल्कने गरि नै विकास गरिरहेका छन् । बालेनले चुनावी घोषणापत्र देखि आफ्ना नीति तथा कार्यक्रममा सांस्कृतिक सहरको रूपमा अगाडि बढाउने प्रतिबद्धता गर्दै आएका छन् ।
बालेन नेतृत्वको काठमाडौं महानगरले सहरका विभिन्न स्थानमा पुरातात्विक महत्वको फल्चाहरु निर्माण गरिरहेको छ । जहाँ बटुवाहरुले थकाई मेट्नका लागि आराम गर्न सक्छन् । न्युरोडका जुद्ध शमशेरकालीन घरहरू सिंगारिएका छन्, जसका कारण न्युरोडमा जाने जो कोहीलाई प्राचिनकालको न्युरोड फर्किएको आभाष हुन्छ । त्यस्तै विभिन्न स्थानको सडकपेटीमा मौलिकपन झल्कने इट्टा बिछ्याने काम गरिरहेको छ ।





























प्रतिक्रिया