काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुचका लागि निर्माणाधिन केवलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ ।
आम स्थानीयहरु केवलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु लागेको भन्दै आक्रोशित स्थानीयहरुले छिटो केवलकार निर्माण गर्न पाथीभरा देवी केवलकार कम्पनीलाई आग्रह गरेका छन् । उनीहरुले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लाकार्ड र व्यानरसहित सदरमुकाम फुङलिङमा विशाल प्रदर्शन गरेका हुन् ।
ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न जिल्ला बाहिर र बसाई सरी अन्यत्र पुगेका मान्छेहरुलाई नलाग्न समेत उनीहरुले आग्रह गरेका छन् ।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको विशाल प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति रहेको थियो । पाथीभरामा केवलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै केही व्यक्तिहरुले विरोध गरिरहेका छन् ।
पाथिभरामा केवलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केवलकार निर्माणको अनुमती लिएको थियो ।
करिब दुईवर्ष अघि पाथीभरा केवलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयाजना निर्माणले गति लिन थालेको छ ।
नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतीहरु प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भएको छ । आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केवलकार सहितका पर्यटकीय गन्तब्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा यस केवलकारको ठूलो शेयर लिएर काम अगाडि बढाएको हो ।
कम्पनीले केवलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ ।
केवलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम समेत सम्पन्न भई केवलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माणको काम सुरु भएको थियो ।































प्रतिक्रिया