रासस समयानुकूल अझ सशक्त स्रोतका रूपमा प्रस्तुत हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

रासस समयानुकूल अझ सशक्त स्रोतका रूपमा प्रस्तुत हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) समयानुकूल अझ सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राज्यद्वारा सञ्चालित देशको एक मात्र समाचार समितिका रूपमा अविछिन्न सेवारत रही सञ्चारमाध्यमलाई समाचार सामग्री सम्प्रेषण गर्दै आएको रासस सशक्त र प्रभावकारी स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताए।

मन्त्री गुरुङले भने, “राससले मिडिया सङ्ग्रहालय सञ्चालन गरेर इतिहासमा अभिलेखिकरण गरेको छ, यसले विभिन्न मातृभाषामा समाचार सेवा तथा २४सै घण्टा समाचार सेवा सञ्चालन गरेर प्रशंसायोग्य काम गरेको छ, सरकारको नीति र निर्देशनलाई पालना गर्दै प्रचार साझेदारका रुपमा रहेको राससलाई प्रभावकारी सञ्चारमाध्यमका रुपमा विकास गर्न सङ्घीय सरकारबाट आवश्यक सहयोग र समन्वय हुने विश्वास दिलाउन चाहन्छु ।”

उनले आफ्ना सेवाग्राहीको सङ्ख्या वृद्धि गरी उपलब्ध सम्पत्तिको अधिकतम् सदुपयोग र आम्दानीका अन्य स्रोतसमेत पहिल्याएर आफूलाई आत्मनिर्भर बनाउन रासस व्यवस्थापनले ध्यान दिनेमा विश्वास व्यक्त गरे । “सरकार प्रेसलाई सङ्कुचन गर्ने कुनै मनसाय नराखी संविधानप्रदत्त अधिकार बमोजिम स्वच्छ आलोचनालाई आत्मसात् गरेर अघि बढिरहेको छ, सरकारले विगतका प्रेससँग सम्बन्धित कानुनमा समसामयिक सुधार गरी सङ्घीयताको मर्म र भावनालाई स्थानीय तहसम्मै अनुभूति गर्नेगरी मौजुदा कानुनमा संशोधन, परिमार्जन र अद्यावधिक गर्न आवश्यक छ”, उनले भने ।

त्यस कार्यमा प्रेससँग सम्बन्धित सरोकार भएका सबै पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको उनको भनाइ छ । “नेपाली सञ्चार क्षेत्रमा देखिएका विकृति, विसङ्गति र मिथ्या सूचनाको प्रवाह तथा सामाजिक द्वेष फैल्याउने कार्यमा रोक लगाउन सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि आह्वान पनि गर्दछु”, उनले भने । राससले आफ्ना नीति तथा कार्यक्रमका साथ सूचना प्रविधिलाई अधिकतम उपयोग गरी आफ्नो सेवालाई विविधिकरण र व्यावसायिकीकरण गर्दै अझ विश्वसनीय र भरपर्दो सञ्चारमाध्यमका रूपमा स्थापित गर्नुपर्ने उनले सुझाव दिए।

Skip This
Skip This
Logo