काठमाडौं । नेपालमा ७ महिनामा ६ हजार भन्दा बढी ईभी गाडी भित्रिएका छन् । नेपालमा इलेक्ट्रिक भेइकल (ईभी)को प्रयोग पछिल्लो समय तीव्र गतिमा बढिरहेको यसले पुष्टि गर्दछ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले प्रत्येक महिना ईभी गाडीको आयात उच्च संख्यामा भइरहेको देखाएको हो ।विभागले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि माघसम्ममा विभिन्न ब्रान्डका ६ हजार २५६ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ । केही वर्ष यता बजारमा आईसीई भन्दा ईभीको माग बढिरहेको हुँदा आयात पनि उल्लेखिय वृद्धि भएको व्यवसायीहरू बताउँदै आएका छन् ।
विभागका अनुसार ५० किलोवाट क्षमताका ईभी २१ सय ५९, ५१ देखि १०० किलोवाट क्षमताका ३४ सय ९१ र १०१ देखि २०० किलोवाट क्षमताका ५९३ वटा गाडीको आयात भएको बताएको छ । यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको ११ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
भन्सार विभागका अनुसार १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो । ति गाडी आयात हुँदा ९ अर्ब ८ करोड ४२ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएकाे छ ।
नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनुका साथै आवश्यक पूर्वाधार निर्माण गर्नाले ईभीको प्रयोग बढ्दै गएको छ । सडक ईभीमय बन्दै जाँदा ईभीको आयात अझै वृद्धि हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।
कुन देशबाट कति भयो आयात ?
नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ ।
यो सात महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १२ सय ६८ र भारतबाट ८९१ वटा भित्रिएका छन् । यस्ता, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २९ सय २२, भारतबाट ५ सय ६८ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्यांकले देखाएको हो ।
यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ५ सय ७०, जर्मनीबाट १७, कोरियाबाट २ र अमेरिकाबाट ४ वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट ७ र जर्मनीबाट ३ वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।
यसका साथै २०१ देखि ३०० किलोवाटको अमेरिकाबाट १ र ३०० भन्दा माथिको २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जानकारी दिएको छ ।































प्रतिक्रिया