काठमाडौं । भारतको ओडीसा राज्यस्थित राजधानी भुवनेश्वर यतिबेला अशान्त बनेको छ । आइतबार कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमै शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् । बुटवलकी २० वर्षीय प्रकृति बी टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । तर, उनले कलेजकै सहपाठीको मानसिक यातना थेग्न नसकेर ज्यान त्यागेको विषय बाहिरिएको छ । यसमा विशेष छानविन समिति त बनेको छ । तर, त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु भने कलेज प्रशासनले दमन गरेको भन्दै स्वदेश फर्किइरहेको अवस्था छ । यस विषयले नेपालमा मात्र होइन, भारतको पनि सडकदेखि सदनसम्म तताएको छ । किटका पदाधिकारीले आन्दोलित नेपाली विद्यार्थीलाई नेपालको भन्दा त्यो कलेजको बजेट धेरै छ भन्ने शब्द प्रयोग गर्दै दूव्र्यवहार गरेका थिए । यस विषयले किट कलेजका बारेमा एकपटक जान्न सबैलाई खुल्दुली मच्चाएको थियो । आज हामी त्यसको चर्चा गर्नेछौं ।
कालिङ्गा इन्टिच्युट अफ इन्डिस्ट्रियल टेक्नोलोजीका संस्थापक हुन् डा. अच्युत सामन्त । उनी बिजु जनता दल (बिजेडी)का पूर्व सांसद पनि हुन् । प्राध्यापकको रुपका करिएरको सुरुवात गरेका उनि छोटो समयमै उडिसा राज्यमा सामाज्य खडा गरेका छन् । उक्त क्षेत्रमा उनको वाहवाहि हुन्छ । उनले भारतको शिक्षा क्षेत्रमा अतुलनिय योगदान पु¥याएको चर्चा हुन्छ ।
गरिव परिवारमा जन्मिएका सामन्त कुनै पनि बालबालिका शिक्षा, स्वास्थ्य, गाँस, बास, र कपासबाट वञ्चित हुन नपरोस भन्ने लक्ष्यका साथ अगाडि बढेको र आज जे छ त्यसमा भगवानको कृपा रहेको उनी बताउछन् ।
सामन्त २५ वर्षको उमेरमै ५ हजारको लगानीमा कलिंगा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)को स्थापना गरेका थिए । स्थापनाकालमा किटमा २५ जना विद्यार्थीले अध्ययन गरेका थिए । समय वित्दै जाँदा किटका विद्यार्थीसंग लिईएको शुल्कबाट निम्न वर्गका आदीबासी जनजातीका बालबालिकालाई पढाउने उदेश्यले कलिंगा इन्स्टिच्युट अफ सोसल साइन्स विश्वविद्यालयको स्थापना गरे । उक्त विश्वविद्यालयमा कक्षा १ देखि स्नातकोत्तर सम्म निशुल्क अध्ययन गराइन्छ । किट विश्वविद्यालय पूर्ण रुपमा आवासिय हो । अहिले त्यहाँ ३० हजारभन्दा बढि विद्यार्थी अध्ययन गरिरहेका छन् ।
अहिलेसम्म भारतको विभिन्न १० जिल्लामा कलिंगा इन्स्टिच्युट अफ सोसल साइन्स सञ्चालन भैरहेको छ । त्यति मात्र होइन उनको मेडिकल अस्पताल समेत सञ्चालनमा रहेको छ ।
अभावै अभावमा हुर्किएका उनी अरु कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने सोच राख्छन् । त्यसैले उनले विश्वको सबैभन्दा ठुलो आदीवासी संस्था कलिंगा इन्टिच्युट अफ सोसल साइन्सको स्थापना गरेका हुन् । उनले नेपाल पनि भ्रमण गरिसकेका छन्, एक कार्यक्रममा उपस्थित भएका सामन्त नेपालमा पाएको जस्तो सम्मान अन्यत्र कतै नपाएको जिकिर गरेका थिए ।
तर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु उनको संस्थामा हुनु र कलेज प्रशासनले न्याय मागिरहेका नेपाली विद्यार्थीमाथि गरेको व्यवहारले किटका संस्थापक सामन्तको छवि डगमगाएको छ । मृतक लम्सालको न्यायका लागि देशमा सडकदेखि सदन सम्म आवाज उठिरहेको छ र किटमा अध्ययरत भारतीय विद्यार्थीले समेत साथ दिरहेका छन् । स्वच्छ छवि भएको मानिएका उनी उप्रान्त प्रकृति लम्सालको न्यायका लागि कस्ता पहल कदमी चाल्छन् होला ? त्यसमा आम नेपाली प्रतिक्षामा छन् ।
प्रकृति लम्सालको मृत्यु हुनु किटमा विद्यार्थीले ज्यान गुमाएको यो पहिलो घटना भने होइन । सन् २०२१ देखि २०२५ सम्म अर्थात ४ वर्षमा ४ जना विद्यार्थीले ज्यान गुमाइसकेका छन् । १५ मार्च २०२१ मा विद्यार्थीको सुरज चौरसिया मृत्यु भएको थियो । उनी होस्टेलमा मृत फेला परेका थिए । मध्य प्रदेश घर भएका १९ वर्षीय बीटेकका विद्यार्थी चौरसिया डिप्रेसनमा रहेको बताइएको थियो ।
सन् २०२१ नोभेम्बर ७ मा अनन्या शर्माको विश्वविद्यालयमै दुर्घटनामा मृत्यु भएको थियो । २० वर्षीया अनन्या कम्प्युटर साइन्समा बीटेक गर्दै थिइन् । १६ नोभेम्बर २०२२ मा केआईटी कलेज फेरि छात्रावास भवनको पाँचौं तलाबाट बीटेक प्रथम वर्षका सुरज कुमारले हाम फालेर ज्यान गुमाए । यी सबै घटनाको निष्पक्ष छानबिन हुन नसकेको र अदालतमा मुद्दा चलाएपनि त्यसको सुनुवाइ अहिलेसम्म हुन नभएको बताइएको छ ।
नेपाल र भारतको खुला सिमाना भएकाले र संस्कृति मिल्दोजुल्दो भएकाले पहिलेदेखि नै नेपालबाट अध्ययनका लागि भारत जाने प्रचलन रहेको छ । एक तथ्यांक अनुसार सन् २०२२ल मा मात्र १३ हजार भन्दा बढी विद्यार्थी भारतमा अध्ययनको लागि गएको देखिएको छ । विगत १२ वर्ष देखि नेपाली विद्यार्थीहरु कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल विश्वविद्यालयमा अध्ययनका लागि जाने गरेका छन् । यस विश्वविद्यालयमा भारतको अन्य विशवविद्यालय भन्दा न्युन शुल्कअमा अध्ययन हुने र छात्रवृत्तिको समेत व्यबस्था भएकाले किटमा विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।
अन्य विश्वविद्यालयले विटेकका लागि करिब २० लाख आइसी शुल्क लिने गरेता पनि किटले होस्टलको शुल्कसहित १२ लाख आइसीमै विद्यार्थीहरूलाई पढाउँदै आएको थियो । तर सन् २०२५ देखि भने विटेकको शुल्क बढाएर १७ लाख आइसी पु¥याएको छ । सन् १९९२ मा स्थापना भएको किट अहिले करिब ३० हजार विद्यार्थी पढ्छन् । विटेक पहिलो वर्षदेखि पिएचडीसम्म नेपालका मात्रै १४ सय बढी विद्यार्थी अहिले किटमा अध्ययनरत छन् ।
तर, यो घटनाले नेपालको कूटनीति अवस्था कति कमजोर रहेछ भन्ने कुरा पनि उजागर गरेको छ । नेपाली सडक र सदन नतातिँदासम्म र उता विद्यार्थीलाई कलेजका चौकीदारले नपिटेसम्म सरकारले पहलसमेत गर्न सकेको थिएन । तर, एउटा कुरा के स्मरणीय छ भने, प्रकृतिलगायत नेपाली विद्यार्थी किटमा पढ्न जानुपर्ने परिस्थितिको पछाडि पनि नेपालको राजनीति प्रत्यक्ष रुपमा जिम्मेवार छ । नेपालमा आइटीसम्बन्धी विद्यालय खोल्न नसक्ने होइन । थुप्रै विश्वविद्यालय खुलेका पनि छन् । प्रदेश प्रदेशमा विश्वविद्यालय छन् तर विद्यार्थी १२ कक्षा पास गर्दा नगर्दै विदेश जान्छन् किन ? तर यसमा नेताहरु उत्तरविहीन छन् ।































प्रतिक्रिया