काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजदेखि सुरु भएको छ ।
आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भईरहेको यो प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन्। आगामी १९ फागुनसम्म हुने प्रतियोगिताको उद्घाटन खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच भएको छ ।

सोअघि प्रधानमन्त्री ओलीले बल रेफ्रीलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् । सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यलगायतको उपस्थिती रहेको थियो । उद्दघाटन समारोहमा कलाकारद्वय गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी र समीक्षा अधिकारीले प्रस्तुति दिएका थिए ।
जन्मदिनको अवसरमा नेकपा (एमाले)का नेता, कार्यकर्ता तथा प्रधानमन्त्रीकी धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्य पनि सरिक थिइन्। प्रतियोगितामा एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेडको सहभागिता रहेको छ ।

फागुन १२ र १३ गते समान २–२ खेल हुनेछन्। फागुन १२ गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बिच प्रतिष्पर्धा हुनेछ। त्यसै दिन आयोजक टोली केपी ओली एफसी र एनआरटीबिच खेल हुनेछ।
फागुन १३ गते संकटा र उद्घाटन खेलको विजेता तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच हुनेछ। सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ। सेमिफाइनल र फाइनलका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

‘केपी ओली कप फुटबल’ को फाइनल खेल हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बुफोन नेपाल आउने भएका छन् । प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। यसका साथैं हरेक खेलको विजेता टिमलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ।

अघिल्लो संस्कणको उपाधि मछिन्द्रले जितेको थियो ।































प्रतिक्रिया