सरकार फेर्ने पक्षमा लाग्दैनौं -अध्यक्ष प्रचण्ड

सरकार फेर्ने पक्षमा लाग्दैनौं -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
24
Shares

झापा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफूहरु नलाग्ने बताएका छन् ।

पार्टीले आज कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरेका हुन् ।

“सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,” उनले भने, “हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।”

विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उनले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको बताए ।

आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उनले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराए । उनले भने, “जुनबेला हामीले उनीहरुसँग सहकार्य ग-यौँ, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौँ, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए ।”

झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उनले बताए ।

Logo