काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले पाथीभरा केवलकार निर्माण विवादमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पहिचानवादी पक्षलाई उचालेकोे टिप्पणी गरेका छन् ।
पाथीभरा केवलकार निर्माण परियोजनालाई स्थानीयको पूर्ण साथ रहँदारहँँदै पनि माओवादी लगायत केही प्रतिपक्षी दलहरुले राजनीतिकरण गरेर ताप्लेजुङलाई लडाँइको मैदान बनाइरहेको मेयर मादेनको भनाइ छ ।
मंगलवार केन्द्रविन्दु डटकमसँग कुराकानी गर्दै उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्डले नै आफू प्रधानमन्त्री भएको वेलामा पाथीभरामा केवलकार बनाउने कुरा राख्दा हामीलाई विकासको आवश्यकता छ, हामीले खोजेकै त्यही हो भनेका थिए । तर अहिले प्रतिपक्षमा बस्दा कुनै पनि नागरिकलाई, कुनै पनि जातीको सभ्यता र संस्कृतिमाथि राज्यले अतिक्रमण गर्छ र गोली हानेर जवरनस्ती केवलकार बनाउँछ भने मान्ने छैन, त्यसमा हामी पनि ‘नो केवलकार’ पक्षधरहरुलाई सहयोग गर्न तयार छौँ भनेर भन्ने ?’
उनले थपे, ‘माओवादीका वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ गृहमन्त्रीमा रहँदा उनलाई मैले फोन गर्दाखेरी द्धन्द होला जस्तो छ, यहाँ पुलिस फोर्स कम छ, ३०/४० जना पठाइदिनुपर्यो भन्दाखेरी उहाँले तुरुन्त पठाएको हो । पाथीभरा क्षेत्रमा पुलिस फोर्स पूर्वगृहमन्त्री श्रेष्ठकै पालामा राखिएको हो ।’
तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पाथीभरा केवलकारको विषयमा बोलेका थिए । पाथीभराको केवलकारमा सरकारमा नेतृत्व गर्नेहरूको पनि लगानी भएकाले जनता मारेर भए पनि केवलकार बनाउने सोचमा लागेको उनको आरोप थियो ।
सोही कुराको प्रतिवाद गर्दै प्रचण्डलाई मेयर मादेनले प्रश्न गरे, ‘सत्तामा हुँदा बन्नुपर्छ भन्ने र प्रतिपक्षमा पुग्दा पहिचानवादी र जातीयता र संस्कृतिको याद आउने ?’
मेयर मादेनको भनाई जस्ताको तस्तैः
पाथीभरा केवलकार निर्माण विवादमा अहिले पहिचानवादीलाई उचाल्ने प्रचण्ड जी हिजो प्रचण्ड प्रधानमन्त्री भएको पालामा नारायणकाजी गृहमन्त्री हुदाँखेरी केवलकार बनाउन सुरु गरेको हो । त्यतीखेर काठमाडौंमै गएर प्रचण्डसँग मैले भेटको उहाँले पनि बनाउनुपर्छ, विकास हामीलाई आवश्यकता छ हामीले खोजेकै त्यही हो भनेका थिए । नाराणकाजीजीलाई मैले फोन गर्दाखेरी द्धन्द होला भनेर मैले पुलिस फोर्स कम छ ३०/४० जना पठाइदिनुपर्यो भन्दाखेरी उहाँले तुरुन्त पठाको हो । अनि अहिले आएर प्रतिपक्षमा बस्दाखेरी कुनै पनि नागरिकलाई कुनै पनि जातीको सभ्यता र संस्कृतिमाथि राज्यले अतिक्रमण गर्छ र गोली हानेर जवरजस्ती बनाउँछ भने मान्ने छैन त्यसमा हामी पनि उहाँहरुलाई सहयोग गर्न तयार छौँ भनेर भन्ने यस्तो नेताहरु भएसी कसरी देश विकास होला ? पोलिस फोर्स गृहमन्त्री नारायणकाजी कै पालामा राखिएको हो । प्रधानमन्त्रीलाई भेटेर विकास गर्नुपर्छ हजुर पाथीभरा क्षेत्र मेरो स्थानीय तह अन्तर्गत पर्छ भन्दा विकास गर्नुपर्छ विकास गर्न नै हामीले चाहेको हो । आमुल परिवर्तन ल्याएको हो । यो परिवर्तनसँग तपाईं खुसी हुनुहुन्छ भन्दा म एकदम खुसी छु । जातीय पहिचानको कुरा गरेर हुँदैन । पहिचान सबैको छ ।































प्रतिक्रिया