काठमाडौं । एडभर्टाइजिङ एशोसिएसन अफ नेपालअन्तर्गतको स्वायत्त संस्था एड क्लब अफ नेपालले मी टिभीको समर्थनमा झम्सिखेलस्थित मक्समा ‘एकदेशमा: पारस खड्का’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाल क्रिकेट टिमका पूर्वकप्तान नेपाल क्रिकेट संघका सचिव तथा हालै सम्पन्न नेपाल प्रिमियर लिगका संयोजक पारस खड्का प्रमुख वक्ताका रूपमा सहभागी थिए। उनले आफ्नो प्रारम्भिक संघर्षदेखि २०१४ को आइसिसी टि२० विश्वकपमा नेतृत्व गर्ने यात्रा, नेपाललाई ओडिआई मान्यता दिलाउने सफलता, खेल प्रशासनमा संलग्नता तथा ब्रान्ड एन्डोर्समेन्टको यात्राबारे प्रेरणादायी अनुभवहरू साझा गरे।
सचिव खड्काले खेलमा समर्पण र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धता कसरी ब्रान्ड एन्डोर्समेन्टको दृष्टिकोणमा समान रूपले लागू हुन्छ भन्ने विषयमा प्रकाश पार्दै, जुनसुकै क्षेत्रमा पनि इमानदारी र जोसको महत्त्व रहेको उल्लेख गरे।
कार्यक्रमको प्रारम्भमा विज्ञापन क्षेत्रका पेशेवर हीना द्वारा वाचन गरिएको एक भावनात्मक कविता प्रस्तुत गरिएको थियो, जसले माहोललाई थप प्रेरणादायी बनायो। त्यसपछि मी टिभीका बिजनेस डेभलपमेन्ट म्यानेजर प्रविण अर्याल ले आउँदै गरेका दुई प्रमुख कार्यक्रमहरूको बारेमा जानकारी दिँदै मी टिभीको गुणस्तरीय सामग्री निर्माणप्रति प्रतिबद्धता उजागर गरे।
कार्यक्रमको क्यू एण्ड ए सेसन एड क्लब अफ नेपालका संयुक्त गभर्नर दिपेन्द्र टण्डन द्वारा संचालित गरिएको थियो, जहाँ पारस खड्काले आफ्नो व्यावसायिक तथा व्यक्तिगत अनुभवहरू खुलस्त रूपमा साझा गरे।
कार्यक्रमको समापनमा एड क्लब अफ नेपालका गभर्नर बिधान राजभण्डारी र एडभर्टाइजिङ एशोसिएसन अफ नेपालका अध्यक्ष सुदीप थापाले पारस खड्कालाई सम्मान स्वरूप विशेष स्मृति चिन्ह प्रदान गरे। समापन मन्तव्यमा बिधान राजभण्डारी ले कार्यक्रमलाई सफल बनाउन योगदान दिने सम्पूर्ण व्यक्तिहरू र सहभागीहरू प्रति आभार व्यक्त गरे।
९० भन्दा बढी विज्ञापन, मिडिया र कर्पोरेट क्षेत्रका विज्ञहरूको उपस्थितिमा सम्पन्न यो कार्यक्रमले एड क्लब अफ नेपालको एजेन्सीहरू, मार्केटरहरू, मिडिया हाउसहरू, कलाकारहरू, इनफ्लुएन्सरहरू र उद्योगका नेताहरूबीचको सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ।































प्रतिक्रिया