काठमाडौं । आज महाशिवरात्रि, पशुपतिनाथ मन्दिर सयपत्री, गोदावरी लगायत थरीथरीका फूलैफूलले बेहुलीझैं सिंगारिएको छ । फूलैफूलले सजिएको पशुपतिनाथ मन्दिरको दृश्य निकै रोचक देखिएका छन् ।
लाखौं रुपैयाँ खर्चिएर आयात भएका रंगीचंगी फूलबाट पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर र त्यस वरपरका स्थान आकर्षक तरिकाले सजाइएका थिए । हरेक वर्षझैं यस वर्ष पनि महाशिवरात्रिका लागि पशुपति मन्दिर सिंगार्नका लागि मलेसिया सिंगापुर र भारतबाट २० लाखका सयपत्री लगायत थरीथरीका फूलफूलहरु आयात गरिएको पशुपति क्षेत्र विकास कोष समितिका प्रवक्ता रेवतीरमण अधिकारीले केन्द्रबिन्दुलाई जानकारी दिए ।
शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरलाई फुलले मात्रै सिंगारेको थिएन, हरेक वर्षझैँ यस वर्ष पनि भक्तजनहरुका लागि आकाशबाट हेलिकप्टरमार्फत नेपाली सेनाले पुष्पवृष्टि गरेर थप रोचक बनाएको थियोे ।
पशुपति क्षेत्रमा दैनिक जसो पूजाआजाको सामान बेचेर जिविकोपार्जन गरिरहेका व्यवसायीहरुले पनि शिवरात्रिको अवसरमा मनग्य आम्दानी भइरहेको बताएका छन् ।
महाशिवरात्रि पर्व पशुपतिनाथलगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी प्र्रत्येक वर्ष मनाइने परम्परागत चलन छ । फागुन कृष्ण चतुर्दशी मध्यरातमा आराध्यदेव भगवान शिव जन्म भएका कारण मनाइने महाशिवरात्रि पर्वमा शिवको पूजाआराधना गरी देशैभर धुमधामका साथ मनाइने गरिन्छ ।
पशुपतिनाथ मन्दिर बाक्लो रुपमा फूलले सिंगारिए पनि शिवरात्रीको शोभा बढाउन दर्शनार्थीहरुको भिड पनि निकै रोचक र मनमोहक देखिएको थियो । लाइन लागेर पुजा गर्न गइरहेका भक्तजनको अनुहारमा निकै चमक देखिएको थियो । शिवको पूजाआजा गरि फर्केका दर्शनार्थीहरु भने टिकटक बनाएर, तस्बिर खिचेर, गित गाएर रमाइलो गरिरहेका दृश्यले पनि शिवरात्रीको रौनकतालाई बढाइरहेको थियो ।































प्रतिक्रिया