बाँके । बाँकेको समशेरगञ्जस्थित ओभरी गाउँ शोकमा डुबेको छ । बिहेको उत्सवमा रम्नुपर्ने ओभरी गाउँ दुलाहाका बाबुआमासहित ६ जनाको मृत्युभएपछि शोकमा डुबेको हो । बिहीबार बिहानै भएको दुर्घटनामा परी चितवनबाट दुलही ल्याएर फर्कदै गर्दा दुलाहाका बाबुआमा र आफन्तसहित ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–९, समशेरगञ्जका २७ वर्षीया बेहुला यज्ञबहादुर केसीका बाबु ५३ वर्षीय मनबहादुर केसी, आमा ४२ वर्षीया विमला केसी, बिमलाको काखमा रहेकी ५ वर्षीया नातिनीको पनि ज्यान गएको छ ।
त्यस्तै शमशेरगञ्जकै ४९ वर्षीय विश्वनाथ अधिकारी, कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय समाजसेवी दत्तबहादुर खत्री र शमशेरगञ्जका ३१ व्र्षका दीपककुमार खड्काको पनि ज्यान गएको हो ।
चितवन गीतानगरबाट बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।
केही समयमा घर पुग्नुपर्ने जन्ती लाश बन्योः
बुधबार राति करिब २ बजेतिर दुलाहको घरबाट फोन गर्दा बाटोमा रहेको र छिट्टै पुगिने जानकारी आयो । दुलाहको घरमा रत्यौली चलिरहेको थियो । पुरै गाउँले नाचगान, खानपानमा व्यस्त थिए । गाउँ नै रमाईरहेको थियो ।
त्यसको करिब १ घण्टापछि फोन आयो, जुन फोनले सबै आफन्तजनलाई छाँगाबाट खसाइदियो । क्षणभरमै बिहेको रमझम र खुशी रुवाबासीमा परिणत बन्यो । लमही नगरपालिका–९ रिहार भन्ने स्थानमा जन्ती बोकेको स्कारपियो जिप दुर्घटनामा परेको थियो ।
दुलाह दुलहीसहित अरु करिब ५० जना जन्ती बसमा सवार थिए । दुलाहका बाबु र अन्य घर छिटो पुग्नुपर्ने भन्दै स्कारपियोमा थिए । बसमा भएकी दुलाहकी आमा पनि स्कारपियो मै चढिन् ।
मृतकहरूको शव लमही अस्पतालमा पोस्टमार्टमपछि दाहसंस्कारका लागि राप्ती नदी किनारमा लगिएको बेहुला परिवारका भानिज दीपक केसीले जानकारी दिए । चितवनको गीतानगरबाट बेहुली ल्याएर मौरीघाटमा रमाइलो गर्दै खान खाइसकेपछि ८ जना सवार बेहुलाका आमाबुबा चढेको गाडी घरमा पर्सिने तयारीका लागि सबैभन्दा अगाडि लागेको थियो ।
नारायणघाटबाट त्यहाँका चर्चित बाजा लिएर चितवनको गीतानगरस्थित बेहुलीको घर पुगिएको थियो । विधिवत विवाह सम्पन्न भएपछि नाचगान गरी दिउँसो चार बजेको समयमा जन्ती बेहुली लिएर बेहुलाको घरतर्फ लागेका थिए । तर जन्ति घर नपुग्दै दुलाहका आमा बाबुसहित ६ जनाले ज्यान गुमाए ।
२७ वर्षीय बेहुला यज्ञबहादुर केसी सुर्खेतस्थित शिद्धार्थ बैङ्कमा अधिकृत तहका कर्मचारी हुन् । २४ वर्षीया बेहुली लक्ष्मी पौड्याल मास्टर डिग्री सेकेर लोकसेवा आयोगको तयारी गर्दैछन् । ती दुईबीच काठमाडौंमा सँगै पढ्दादेखि नै प्रेम सम्बन्ध थियो ।
बेहुलाका मृतक बाबु मनबहादुर शक्ति माध्यमिक विद्यालयका शिक्षक थिए । उनी त्यस भेगकै प्रतिष्ठित समाजसेवी पनि हुन् । उनकी धर्मपत्नी विमला पनि समाजसेवीका रूपमा क्रियाशील थिइन् ।
आजै दाहसंस्कार:
मृतक सबैको आजै दाहसंस्कार गरिदैंछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुम बहादुर बस्नेतका अनुसार घरमा दाहसंस्कार तयारी भईरहेको र लमहीबाट शबहरु ल्याउने काम भईरहेको छ । लमहीमा पोस्टमार्टमपछि शव ल्याएर राप्ती नदी किनारमा सबै जनाको हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने वडाअध्यक्ष बस्नेतको भनाई छ
आभेर स्पिडले दुर्घटनाः
जीप ओभर स्पिडका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबारे अनुसन्धान गर्दा ओभर स्पिड नै कारण दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।
‘स्कारपियो गलत लेनमा गएर ठोक्किएको छ, बस चालकको कुनै गल्ती नै देखिँदैन,’ एसपी पाण्डेले भने, ‘सायद ओभरस्पिड भएको हुँदा स्कारपियो चालकले त्यो नियन्त्रणमा लिनै सकेनन् ।’































प्रतिक्रिया