बाढीका कारण १३ जनाको मृत्यु, १ लाख पशुपक्षी बगायो

बाढीका कारण १३ जनाको मृत्यु, १ लाख पशुपक्षी बगायो

केन्द्रबिन्दु
0
Shares

हनोइ । भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जनाएको छ ।

मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एकजना अझै बेपत्ता छन् ।

सो बाढीले करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुबाएको छ । त्यसैगरी करिब एक लाख ६३ हजार थान पशुपक्षी बगाएको छ ।

समितिका अनुसार बाढीबाट करिब १२८ किलोमिटर सडकका साथै सिंचाई प्रणालीमा पनि क्षति पुगेको छ । भियतनाममा यसवर्ष आएको बाढी, पहिरो, भारी वर्षा तथा आँधीका कारण कम्तीमा एकसय ८९ जनाको ज्यान गइसकेको छ ।

भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार यस वर्षको ११ महिनामा प्राकृतिक प्रकोपका कारण करिब ३९ करोड १३ लाख अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । रासस/सिन्ह्वा

Logo