काठमाडौं महानगरको शैक्षिक मेला सम्पन्न, मुख्य आकर्षणमा नमुना संसदको अभ्यासदेखि लाइभ आर्ट र ड्रोनसम्म

काठमाडौं महानगरको शैक्षिक मेला सम्पन्न, मुख्य आकर्षणमा नमुना संसदको अभ्यासदेखि लाइभ आर्ट र ड्रोनसम्म

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘शैक्षिक मेला २०८१’ सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा सञ्चालन भएको दुई दिने, शैक्षिक मेला शनिबार सफलतापूर्वक सम्पन्न भएको हो ।

महानगरपालिकाले विद्यालयहरूमा शैक्षिक सुधारका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, उनीहरुले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरेकाे थियो । मेलामा विभिन्न सामुदायिक स्कुलका विद्यार्थीहरुले नेपाली भाषामा स्वागत मन्तव्य, योगा, पाक कला, फेसन डिजाइनिङ, व्युटिसियन, संसदको अभ्यास जस्ता विधामा सिकेका सिपलाई प्रस्तुत गरेका थिए ।

शैक्षिक मेलामा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न प्रोजेक्टहरु आकर्षणको केन्द्रमा रहे । ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थीले बनाएको महानगर प्रमुख बालेन शाहको पेन्टिङले सबैको ध्यान खिचेको थियो ।

त्यस्तै, विद्यार्थीहरुले प्रस्तुत गरेका संसदको नमुना अभ्यास पनि तारिफ गर्न योग्य थियो । पद्मोदया विद्यालयका विद्यार्थीले बनाएको एलेक्ट्रोनिक बेल र उनीहरुले सिकेका ड्रोनसम्बन्धी ज्ञान पनि मुख्य आकर्षणमा रह्यो ।

कक्षा ४ र ५ का विद्यार्थीले सिकेका बाद्यबाधन र गीत-संगित पनि उस्तै मनमोहक थियो । विद्यार्थीहरुले ३५ वटा स्टलमा आफ्नो कलालाई प्रस्तुत गरेका थिए । उक्त स्टलहरुमा कलिनरी आर्ट, मोवाइल एण्ड एलेक्ट्रोनिक्स, ब्युटिसियन एण्ड हेयर स्टाइल, बाद्यबाधन, ड्रोन, आर्ट एण्ड स्केचहरु प्रदर्शनीमा राखेका थिए ।

यस्तै, नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक वादन तथा गायन प्रस्तुति समावेश गरिएको थियो । विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत संस्कृति इन्टरनेशनल र शान्ति निकुञ्जका विद्यार्थीले अध्ययन गरेका मरुहिटी पानीको गुण जाँच तथा सफाइको प्रविधि, टेक्नोलाजी बाट सिकाइ प्रदर्शनीमा अवलोकनका लागि राखिएको थियो ।

विद्यार्थीले प्रत्यक्ष काेरेका बुद्ध, नगर प्रमुख बालेन शाह, प्रकृति झल्काउने, नेपाली संस्कृति झल्काउने हजार बढी स्केचिङको प्रदर्शनी रहेको थियो । विद्यार्थीहरु मुख्य भूमिकामा रहेको मेलामा उनीहरुको कला र सिप मुख्य प्राथमिकताका रहेको थियो ।

मेलामा सहभागी हुन पाउँदा नयाँ कुरा सिक्न पाएको र एक अर्काबीच अनुभव आदान प्रदान गर्न पाएको विद्यार्थीहरुले बताए । त्यस्तै, उनीहरु महानगरले प्रदान गरेको सिपमुलक सिप विद्यार्थी जिवनमा निकै उपयोगी भएको भन्दै उत्साहित देखिन्थे ।

मेलामा संस्कृति इन्टरनेशनल स्कुलले महानगरसँग सहकार्य गरेको थियो । मेलामा संस्कृती स्कुलका विद्यार्थीले दुई वटा स्टल राखेका थिए । उनीहरुले स्मार्ट सिटी डिजाइन र थ्रिडी प्रिन्टरलाई प्रदर्शनीमा राखेका थिए । यस मेलाले शिक्षक र विद्यार्थीहरुसँग एक अर्काबीच विचार, ज्ञान सातासा गर्ने सुवर्ण अवसरको रुपमा स्थापीत भएको संस्कृति इन्टरनेशनल स्कुलको प्रिन्सिपल तिमीला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘बुक फ्रि-फ्राइडे कार्यक्रममा स्कुलले महानगरसँग सहकार्य गरिरहेको र आगामी दिनमा सरकारसँग पनि सहकार्य गरि अगाडि बढ्ने लक्ष्य रहेको छ ।’

रानीदेवि सेकेन्डरी स्कुलका प्रधानाध्यापक नारायणप्रसाद गौतमले भने, ‘सामुदायिक विद्यालयबाट थालिएको शैक्षिक सुधारका कार्यक्रमले विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ ।’

यसैगरी दरबार हाईस्कुलको प्रधानाध्यापक शारदा पौडेलले भनिन्, ‘महानगरले सञ्चालन गरेको बुक फ्रि फ्राइडेमा सिकेको सिपले विद्यार्थी पकेट खर्च जुटाउन र आर्थिक रुपमा आत्मनिर्भ र कसरी बन्ने कुरा सिकाएको छ ।’

शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यवहारिक र प्रयोगात्मक कक्षाहरूको नतिजा मापनका लागि शैक्षिक मेला आयोजना गरिएको महानगरले जनाएको छ ।

बुक फ्री-फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शनमा राखिएका थिए । जसको शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाहरुले समेत अवलोकन गरेका छन् ।

मेलामा सामुदायिक विद्यालयलाई मात्र समेट्दै आएकामा यस पटक संस्थागत विद्यालयलाई पनि जोडिएका छन् ।

मेलामा अर्काे आकर्षकको विषय सामुदायिक विद्यालयहरूले उपलब्ध गराउँदै आएको ३० रुपैयाँको दिवा खाजा पनि रह्यो । १० वटा स्टलबाट सबै प्रकारका ३० रुपैयाँमा खाजा उपलब्ध गराइएको थियो ।

मेलामा विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल भएको थियो । बुक फ्री-फ्राइडेको बावा क्लव (बालबालिका वातावरण)को उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच अध्ययनको प्रदर्शनीमा रहेको थियो ।

त्यस्तै, विद्यार्थीले प्रत्यक्ष कोरेका स्केचिङको पनि अवलोकन कर्ताले अवलोकन गरेका थिए ।

कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको थियाे । तीन चरणमध्ये एकेडेमिक फेस्ट पहिलाे चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने रहेको छ ।

त्यसैगरी तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्रिया आयोजना भएकाे थियाे । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा छन् । ति सबै विद्यालयमा महानगरले बुक फ्री फ्राइडेको कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरण कक्षा ४ देखि ८ सम्म सञ्चालन भएको उक्त कार्यक्रम अहिले कक्षा ९ र १० मा पनि लागू गरेको छ ।

ति कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले हरेक शुक्रबार सिप सिक्ने गरेका छन् । उक्त सिप कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुले प्रशिक्षणमा आमधारीत सिप ७५ घण्टाको रहेको छ भने परियोजनामा आधारित २५ घण्टा समयावधिको रहेको छ ।

सामुदायिक विद्यालयमा हाल ६१ हजार ३२९ जना विद्यार्थी अध्ययननरत रहेका छनन् । काठमाडौं महानगर भित्र ५२४ वटा संस्थागत विद्यालय छन् । जहाँ २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।

पछिल्लो समय महानगरले बुक फ्रि-फ्राइडे कार्यक्रममा संस्थागत विद्यालयसँग पनि सहकार्यको थालनी गरेको छ ।

काठमाडौं महानगरले ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यसै कार्यक्रम अन्तर्गत महानगरले सामुदायिक विद्यालयमा जिनवन उपयोगी शिक्षा प्रदान गर्ने उदेश्यले बुक फ्रि-फ्राइडे अन्तर्गत विद्यार्थीलाई सिप मुलम तालिम सिकाइरहेको छ । यस मेलाको मुख्य उदेश्य भनेको महानगरले सञ्चालन गरेको सिपमुलम कार्यक्रमको प्राभावकारीता, विद्यार्थीले वर्षभरीमा सिकेका सिपको परिक्षण र मूल्यांकन गर्नु हो ।

Logo