नवनियुक्त फुटबल प्रशिक्षकको दाबी- विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

नवनियुक्त फुटबल प्रशिक्षकको दाबी- विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधित्व गर्ने ढोका खोल्ने बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा प्रशिक्षक रसले विदेश पलायन भएका खेलाडीहरूलाई आफ्नो देशलाई प्रतिनिधित्व गर्नको लागि ढोका खोल्ने बताएका हुन् ।

उनले भने, ‘खेलाडीहरु जो नेपाल छोडेर बाहिर गएका छन् । उनीहरुको आफ्नो कारण वा बाध्यताले विदेशिएका छन् । उनीहरुका लागि ढोका खोल्न चाहन्छु । आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु ।’

यसका साथै, उनले खेलाडीहरुमा रहेको जोशलाई एकै ठाउँमा ल्याएर मैदानमा उतार्ने भन्दै यसपालीको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए । उनले भने, ‘मेरो काम भनेको खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्नु हो । यसपालीको साफ च्याम्पियनसिप जित्न चाहन्छु । म टिमलाई एसियन कपको नजिकभन्दा नजिक लगेर एसियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु । चुनौतीपूर्ण नै भएपनि कोच भएपछि चुनौतीहरु मनपर्ने नै हुन्छ ।’

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउँदा एकदमै खुसी लागेको भन्दै नेपाल एकदमै विशेष देश भएको उनको भनाई छ ।

प्रशिक्षक रसले भने, ‘नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउनु एकदमै सम्मानको कुरा हो । या एकदमै विशेष देशमा विशेष भूमिका हो । नेपाल एउटा एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ तपाईहरु सबै नेपालमा नै भएको हुनाले सायद तपाईहरुसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरुमा काम गरेको हुनाले नेपालमा भएको जोश अविष्मरणीय छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्याट रसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एसियन कप छनोट सुरु हुन झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

Logo