काठमाडौं । नेकपा एमाालेका प्रमुख सचेतक महेश बर्तौलाले भूमिसम्बन्धी अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी रहेको बताएका छन् ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले भूमिसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयकबारे बसेर छलफल गर्ने काम भइरको बताएका छन् ।
उनले भने,‘भूमिसम्बन्धी अध्यादेश संविधान र विद्यमान कानूनी प्रवद्र्धन बमोजिम अधिवेशन आव्हान भएको पहिलो बैठकमा नै पेस गरिएको थियो । त्यसलाई निर्णयार्थ पेस गर्न बाँकी थियो । हामीले ६ वटै अध्यादेशलाई एकैपटक लान खोजेका थियौं । तर सत्ता साझेदारी दलहरुकैबीचमा केही फरक विचारहरु आएका छन् । भूमिसम्बन्धि अध्यादेशलाई रोकेर अहिले पाँचवटा अध्यादेशलाई भोलि पेस गर्छौ । भूमि सम्बन्धि अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी छ । यसलाई प्रतिस्थापन विधेयकका रुपमा बसेर काम गर्नुपर्ने छ, यसमा छलफल गरिरहेका छौं । हामी केही दिनमा यसको समाधान दिन्छौ र भूमिसम्बन्धी अध्यादेशलाइ पनि अगाडि बढाउछौं ।’
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भोलि (बुधवार) संसदमा पेस हुने अध्यादेशहरुको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी हुने बताएका छन् । उनले संसदलाई छलेर ल्याएको अध्यादेश देश र जनताको हितमा नहुने पनि बताए ।
यसका साथै आजको बैठकमा नेपाली कांग्रेसमा सांसद रामहरी खतिवडाले संसदमा मर्यादा कायम गर्न सांसदहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
भोलिको बैठकमा शुन्य समय र आकस्मिक समय मात्र रहने र विशेष समय नहुने आजको बैठकले निर्णय गरेको छ ।































प्रतिक्रिया