काठमाडौं । अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ ।अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको हो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाल्ने क्रमले तीव्रता पाएको हो । नेपालसँग भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई समेत अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।
आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको छ । ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।
अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।
नेपालीलाई छोड्न आएको विमानले नेपालबाट केही अमेरिकी नागरिक लिएर जानेछ ।





























प्रतिक्रिया