प्रचण्डको चेतावनी- सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे समाप्त हुन्छन्

प्रचण्डको चेतावनी- सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे समाप्त हुन्छन्

केन्द्रबिन्दु
45
Shares

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाही टाउको उठाउने प्रयास गर्ने गरेको बताएका हुन् ।

उनले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको भन्दै प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए ।

अध्यक्ष प्रचण्डले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए ।

उनले यथास्थितिमा मुलुक चल्न नसक्ने र अब नयाँ आन्दोलन आवश्यक रहेकाले त्यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित बनाइएका वर्ग समुदायको घरमा पुग्नुपर्छ भनेर नै गम्भीर आत्मसमीक्षा सहित आफूहरु जनताको बीचमा आएको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

महोत्तरीको विकास हिजोदेखि नै प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जलेश्वरमा सुक्खा बन्दरगाह, सिचाइको व्यवस्था, भारतीय बाँधले पारेको असर न्यूनीकरण, मिटरव्याज पीडितका समस्या समाधान, शैक्षिक गुणस्तर वृद्धि, सबै ठाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार, मणिपाल कलेजले ओगटेको जग्गाको उपयोग आदिलाई थप प्राथमिकताका साथ बढाउने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो समय माओवादी जनताको बीचमा कम आएकाले यसको फाइदा उठाएर मधेसवादी दलहरुले मधेसका जनतामा भ्रम सिर्जना गरेको उल्लेख गर्दै उनले अब मधेसवादी दलहरु अवसरवादी रहेको बताए । उनीहरू मधेसी जनताको पक्षमा भए संघीयताको पक्षमा माओवादीले सुरु गरेको अभियानमा जोडिन पनि आग्रह गरे ।

Logo