किटबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई स्वदेशका विश्वविद्यालयको धमाधम अफर, सरकार अझै अलमलमा !

किटबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई स्वदेशका विश्वविद्यालयको धमाधम अफर, सरकार अझै अलमलमा !

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (किट) विश्वविद्यालयमा भएको घटनाले विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थी र अभिभावकमा उब्जिएको त्रास अझै कम भएको छैन ।

किटमा अध्ययनरत छात्र प्रकृति लम्सालको मृत्यु हुनु र विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारका कारण यतिबेला विद्यार्थीहरु किट फर्कने अवस्थामा छैनन् । उता किट विश्वविद्यालय, ओडिसा प्रदेश सरकार र भारत सरकारले भने विद्यार्थीको सुरक्षा प्रत्याभूति दिलाउने प्रतिबद्धता पटक–पटक जाहेर गर्दै आएका छन् ।

त्यसैगरी नेपाली विद्यार्थीलाई लक्षितगरी परीक्षा सारिएको पनि किटले बताएको छ । विद्यार्थीहरुमा किट विश्वविद्यालय फर्किने मनशाय नहुँदा यता स्वदेशकै पूर्वाञ्चल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले किटबाट नेपाल फर्किएका विद्यार्थीलाई अध्ययनका लागि आह्वान गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले फागुन ९ गते एक विज्ञप्ति सार्वजनिक गरी ति विद्यार्थीहरुलाई पियुको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गर्न सकिने बताएको छ । विज्ञप्तिमा विदेशमा उच्च अध्ययनका लागि गएका तर कुनै कारणबस अध्ययन पूूरा नगरी फर्किएका विद्यार्थीहरुलाई पुनः अध्ययनलाई निरन्तरता दिन सकिने उल्लेख गरिएको छ । ति विद्यार्थीहरुले पियुको आंगिक तथा सम्बन्धन प्राप्त स्कुल, क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रमहरुमा अध्ययन गर्न सक्नेछन् ।

यसको अर्थ, उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारणले अध्ययन पूरा नगरी फर्किनुपरेका विद्यार्थीहरूका क्रेडिट ट्रान्सफर गरिदिने भएको हो ।

पियुले विद्यार्थीलाई विगतदेखि नै २५ प्रतिशत क्रेडिट ट्रान्सफर दिँदै आएको छ । अमेरिका, क्यानडा जस्ता देशको विश्वविद्यालयमा अध्ययन पुूरा नगरी नेपाल फर्किएका विद्यार्थीहरुलाई समेत पियुले क्रेडिट ट्रान्सफर दिइसकेको छ ।

गत फागुन ९ मा विज्ञप्ति जारी गरेर विद्यार्थीलाई आह्वान गरिएको थियो तर अहिलेसम्म कुनै पनि विद्यार्थी सम्पर्कमा नआएको पियुका रजिस्ट्रार प्रा.डा. दिपक भण्डारीले बताए । उनले भने, ‘किट सरकारले यति विद्यार्थीलाई पढाउनुपर्यो भनेर निर्देशन दिनुपर्यो कि विद्यार्थी स्वयंले म पढ्छु भनेर आउनुपर्यो ।’

तर न सरकारबाट कुनै निर्देशन आएको छ न किटबाट फर्किएका विद्यार्थी हाम्रो सम्पर्कमा आएका छन् । रजिस्ट्रार प्रा.डा.दिपकबहादुर भण्डारीले थपे, ‘यदि शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगले सामान्य पोलिसी मात्र बनाइदियो भने पियुले ति विद्यार्थीहरुको लागि विशेष व्यवस्था मिलाएर अध्यापन गराउने छौं ।’

त्यस्तै, मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले पनि फागुन १३ गते एक विज्ञप्ति जारी गर्दै किट विश्वविद्यालयबाट नेपाल फर्किन बाध्य भएका र अध्ययन गर्न चाहेका विद्यार्थीलाई विश्वविद्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ ।

त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थी तथा अभिभावकले प्रेस विज्ञप्तिमा रहेको इमेल ठेगानामार्फत सम्पर्क गर्न सकिने शिक्षाध्यक्ष खड्क केसीले बताए ।

यसैगरी काठमाडौं विश्वविद्यालयले पनि विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ । विद्यार्थीले बाँकी रहेको सेमेष्टर केयुमा ट्रान्सफर गरेर अध्ययन गर्न सक्नेछन् । क्रेडिट ट्रान्सफरका लागि चैत १८ गते भित्रमा अनलाइन फाराम भरिसक्नुपर्नेछ । थप जानकारीका लागि विश्वविद्यालयको इमेल आइडीमार्फत सम्पर्क गर्न सकिनेछ ।

तथापि ति विश्वविद्यालयमा भर्ना प्रकृया सकिएर अध्ययन सुरु भैसकेको छ ।

किट फर्किन किन डराइरहेका छन् विद्यार्थी ?

किट विश्वविद्यालयले गल्ती स्वीकार गरी विद्यार्थीहरुसँग माफी मागेर विश्वविद्यालय आग्रह गरिसकेको छ । प्रकृति मृत्यु प्रकरणले अशान्त बनेको किट विश्वविद्यालयमा यति बेला पढाई पनि सुरु भैसकेको छ । कतिपय विद्यार्थी नेपालबाट विश्वविद्यालय फर्किसकेका छन् भने कतिपय विद्यार्थी तत्काल फर्किने अवस्थामा छैनन् ।

तत्कालका लागि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई फर्किन आग्रह गरे पनि भविष्यमा रिसीबी देखाउन सक्ने डरमा विद्यार्थीहरु छन् ।

रिसिबी साध्नका लागि विश्वविद्यालयले विद्यार्थीलाई फेल गराइदिने, पास भएपछि पनि अनेक बाहना गरेर ट्रान्सक्रिप्ट नदिनेजस्ता समस्या यो भन्दा अगाडिदेखि नै रहँदै आएको छ । त्यही त्रासका कारण पनि नेपाली विद्यार्थी फर्कन मानिरहेका छैनन् ।

प्रकृति लम्सालको मृत्युको अनुसन्धान भैरहेको छ । कलेजमा भैरहेको प्रदर्शन रोकिएर सामान्य अवस्थ बनेको छ । पठनपाठन सुरु भैसकेको छ तर नेपाली विद्यार्थीले भोगेको त्यो शारिरीक मानसिक यातना भने आलै छ । विद्यार्थीहरुलाई बाउन्सर खटाएर कुटपिट गर्दै जबरजस्ती होस्टेलबाट निकालिएको घटना ताजै छ ।

आफ्ना छोराछोेरीले भोगेका यातना अभिभावकहरुले पनि भुल्न सकेका छैनन् । त्यसैले नेपाली विद्यार्थी फेरि किट विश्वविद्यालय फर्कने अवस्था छैन ।

भारतमा पढ्ने नेपाली विद्यार्थीको लर्काे

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार भारतमा अहिले नेपालका ३० हजार हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन् । वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५ हजार ९ सय १० जना विद्यार्थीले भारत अध्ययनका लागि एनओसी लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन ७ सम्मको तथ्यांकअनुसार ४ हजार ७ सय ७३ जना विद्यार्थीले एनओसी लिएको देखिन्छ । यो त एनओसी लिएर जाने विद्यार्थीको सङ्ख्या हो । तर एनओसी नलिइ अध्ययनमा जाने विद्यार्थीको सङ्ख्या झनै धेरै हुन मन्त्रालयको अनुमान छ ।

सरकारले अन्य देशहरुमा झैं भारतमा अध्ययन गर्न जान विद्यार्थीको सहि तथ्यांक संकलनका लागि एनओसी जारी गरेको थियो । त्यसपश्चात उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीले पनि एनओसी लिनुपर्ने व्यवस्था रहेको छ । एनओसी व्यवस्था हुनु अगाडि भारतमा कति विद्यार्थी अध्ययनका लागि गए त्यसको कुनै लेखाजोखा छैन ।

Skip This
Skip This
Logo