अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर नेकपाका शीर्ष नेताहरु नै असन्तुष्ट

अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर नेकपाका शीर्ष नेताहरु नै असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ ।

पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरुसमेत असन्तुष्ट देखिएका छन् । पार्टी एकीकरण भन्दा अन्य विषयलाई नै ओलीले प्राथमिकतामा राखेको भन्दै सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यले ओलीको आलोचना गर्न थालेका हुन् ।

ओली कार्यशैलीबाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत सन्तुष्ट नरहेको स्रोत बताउँछ । छलफल नै नगरी महत्वपूर्ण विषयमा एक्लै निर्णय गर्ने ओलीको कार्यशैलीप्रति संकेत गर्दै दाहाल निकट एक नेताले भने, ‘पछिल्लो समय उहाँ (ओली) को कार्यशैलीमा समस्या देखिन थालेको छ, उहाँको कार्यशैलीप्रति अध्यक्ष दाहाल पनि असन्तुष्ट हुनुहुन्छ ।’ सांगठानिक एकीकरण, नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टी परिचालन विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्दा पार्टी गतिविधि ठप्प भएको नेताहरुको आरोप छ ।

हालै काठमाडौंमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीको भूमिकालाई लिएर पनि नेकपाभित्र असन्तुष्टि बढेको छ । एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीको भूमिकालाई लिएर नेकपाका नेताहरु भीम रावल, घनश्याम भुसाललगायतले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन्। नेकपा सचिवालय सदस्य झलनाथ खनाल, अर्का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत प्रधानमन्त्रीसँग असन्तुष्ट देखिएका छन् ।

स्थायी समिति सदस्य अग्नि सापकोटा एकीकरणको काम नटुंग्याई पार्टीको ध्यान अन्त मोडिन नहुने बताउँछन् । उनले पार्टी एकीकरणलाई जतिसक्दो छिटो टुंग्याउँदै असन्तुष्टिका विषय सचिवालय मार्फत अजेन्डा बनाएर स्थायी कमिटीमार्फत सम्बोधन गर्नुपर्ने बताए । ‘पार्टी नेतृत्वले प्राथमिक विषयलाई छोडेर गैरप्राथमिक विषयमा ध्यान दिँदा समस्या भइरहेको छ,’ उनले भने ।
नागरिकबाट

Logo