काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शनी गरेका प्रदीप विक्रम राणा रातारात भारत फरार भएका छन् ।
आइतबार पूर्वराजा शाहको स्वागतमा राजावादी समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको र्यालीमा मुख्यमन्त्री आदित्यनाथको फोटो देखाएका थिए । त्यसपछि नेपालमा राजतन्त्र फर्काउन भारतको षड्यन्त्र त होइन भन्ने आंशका फैलिएको थियो । अहिले सत्तारुढ दल नेकपा एमाले र राप्रपाबीच त जुहारी नै चल्न थालेको छ । यो विषयले संसदमा समेत प्रवेश पाएको छ । यसकै बीच मुख्यमन्त्री आदित्यनाथको फोटो राख्ने को हुन् भनेर चर्चा भइरहँदा राणा भागेर भारतको गोरखपुर पुगेका हुन् ।
उनले भारतीय पत्रिका नवभारत टाइम्ससँग उक्त प्रकरणबारे आफ्नो भनाइ राख्न पनि भ्याइसकेका छन् । उनले भनेका छन् कि, ‘नेपालमा प्रहरी मेरो पछि लागिरहेको छ र म नेपाल छोडेर भारतमा शरण लिनुपर्यो।’
५८ वर्षीय राणाले आफूले अहिलेसम्म योगी आदित्यनाथलगायत भारतका कुनै पनि राजनीतिक नेतालाई अहिलेसम्म नभेटेको दाबी पनि गरेका छन्।
‘न त मैले योगी आदित्यनाथ जीलाई कहिल्यै भेटेको छु न भारतका कुनै राजनीतिज्ञलाई नै। म हाम्रा राजा ज्ञानेन्द्र विक्रम सिंह र योगी आदित्यनाथ जीलाई सम्मान गर्छु।’ उनले भनेका छन्, ‘मलाई विश्वास छ कि योगी जीले जसरी हिन्दू र हिन्दुत्वको लागि निरन्तर लडिरहनुभएको छ, त्यसरी नै उहाँ हामी सबैका लागि एक विश्वव्यापी नेता बन्नुहुन्छ ।’
सन् २००८ मा संशोधनमार्फत परिवर्तन गरिएको नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनर्स्थापित गर्न आफू दृढ समर्थक रहेको बताउने उनी वर्तमान सरकार नहटाएसम्म नेपाल नफर्किने अठोट पनि गरेका छन्। उनले भनेका छन्, ‘ठूलो मुस्किलले म त्यहाँबाट लुकेर भागेँ । नेपालमा राजतन्त्र फिर्ता ल्याउने र नेपाललाई हिन्दू राष्ट्र बनाउने मेरो लडाइँ अन्तिम साससम्म जारी रहनेछ।’





























प्रतिक्रिया