काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु चुनावको मैदानमा उत्रिनका लागि मंगलबार विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
देशभर त्रिविको ६२ वटा आंगीक क्याम्पस र १ हजार ४० सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरुमा विद्यार्थी नेताहरुले उत्साहका साथ उम्मेदवारी दर्ता गराएका हुन् । ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता भएको स्ववियु चुनाव समितिका सदस्य सचिव पशुपति अधिकारीले बताए ।
स्ववियु चुनाव समितिका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले मिश्रित निर्वाचन प्रणालीअनुसार प्रत्यक्ष र सामानुपातिक दुवैतर्फका उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको जानकारी गराए । उनले भने ‘केही क्याम्पसमा विवाद र समस्या देखिएको छ । त्यसलाई पनि मिलाएर उम्मेदवारी दर्ताको प्रक्रियालाई अघि बढाउन समन्वय गरिरहेका छौं । कार्यतालिकाअनुसार बुधबार उम्मेदवारको दाबी विरोध, बिहीबार उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशन र चैत ५ गते स्ववियु निर्वाचन हुनेछ ।’
काठमाडौं उपत्यका २२ मध्ये केहि क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको निर्वाचन समितिले बताएको छ । शंकरदेव, नेपाल ल क्याम्पस, पद्मकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसक्दा निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । ति क्याम्पसहरुमा विवादको समाधान गरि चुनावी प्रकृया अगाडि बढाउन त्रिविले निर्देशन दिएको छ ।
त्रिवि अन्तर्गतका आंगिक, र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको थियो । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले आंगिकबाहेक सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको त्रिविले जनाएको छ ।
आंगिकतर्फ धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियु र महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका उम्मेदवार स्ववियु अध्यक्षमा निर्विरोध निर्वाचित भएको छ ।
त्यसैगरी दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको हो ।
निर्वाचनमा भाग लिन केन्द्रीय निर्वाचन समितिमा २५ विद्यार्र्थी संगठन दर्ता भएका छन । देशभरका अधिकांश क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्र्थी संगठनले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
केही क्याम्पसमा विद्यार्थी संगठनहरुले गठबन्धनसमेत गरेर चुनावमा होमीएका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सिरहा, जनकपुर, भैरहवाका केही आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता अवरुद्ध बनेको छ ।
कोशी, सुदूरपश्चिम, गण्डकी प्रदेशका क्याम्पसहरुमा बिनाविवाद उम्मेदवारी दर्ता भएको छ । कर्णाली प्रदेशको सुर्खेत बहुमुखी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्याम्पसमा विवाद देखिएको छ ।
बागलुङका केही क्याम्पसमा समस्या देखिए पनि समाधान गर्दै उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको समितिले जनाएको छ । केन्द्रमा रहेको धेरै सङ्ख्यामा अध्ययरत रत्न राज्यलक्ष्मी (आरआर), त्रिचन्द्र, पाटन, नेपाल कमर्श, शंकरदेव, भक्तपुर बहुमुखी, पृथ्वीनारायण पोखरा, महेन्द्र मोरङ आदर्श विराटनगर, ठाकुराम बहुमुखी विरगन्ज, लगायत क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।
त्रिविले जारी गरेको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७१ मा तोकिएको मितिमा निर्वाचन हुन नसके १५ दिनभित्र अर्को मिति तोकेर निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ ।
क्याम्पस निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र मिति तोकेर रोकिएको चरणबाट निर्वाचन अघि बढाउनुपर्नेछ निर्देशिकामा भनिएको छ ।
स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्षे उमेरको हद तोकिएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुने प्रावधान रहेको हाे ।
क्याम्पसमा रहेका विद्यार्थी मतदाताको संख्याका आधारमा स्ववियुको कार्यसमितिको संख्या कायम हुने व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि त्रिविले आचारसंहितासमेत जारी गरेको छ । क्याम्पस हाताभित्र भित्ते लेखन, माइक प्रयोग, तथा पोस्टर टाँस्न निषेध गरिएको आचारसंहितामा उल्लेख छ । गत वर्षदेखि त्रिविको केन्द्रिय क्याम्पसमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ । जसका कारण सहज र सरल तरिकाले मतदाता विद्यार्थीले भोट गर्न पाउने छन् ।































प्रतिक्रिया