काठमाडौं
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयहरूसँग समझदारी गरेर पुनःनिर्माण सम्बन्धी कार्यको जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ ।
प्राधिकरणको कार्यकारी समितिको बुधबार बसेको बैठकले पुनःनिर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टाछुट्टै समझदारी गर्ने निर्णय गरेको हो । हाल भूकम्पका कारण प्रभावित ३२ जिल्लाका २७२ स्थानीय तहमा पुनःनिर्माणका काम भइरहेका छन् । यसअघि प्राधिकरणले काभ्रेपलान्चोक जिल्लाका सबै स्थानीय तहसँग छुटाछुट्टै समझदारी गरिसकेको छ ।
बैठकले पुनःनिर्माणको समीक्षा गर्न र स्थानीय तहहरूसँग समझदारी गर्न प्राधिकरणले मङ्सिर २१ गतेदेखि भूकम्प प्रभावित क्षेत्रहरूमा समीक्षा कार्यक्रम र पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने तयारी गरेको प्राधिकरणद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणले तयार गरेको समझदारीपत्रमा नगरपालिका गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिस्टेन्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनःनिर्माणको काममा मात्र खटाउने उनीहरूको हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने उल्लेख छ ।
गोरखापत्रबाट































प्रतिक्रिया