काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् । संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखि परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको उनको भनाइ छ ।
समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मान्नेहरुलाई कहिल्यैपनि अपमान नगरेको बताएका हुन् ।
उनले भने, ‘जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मानेका छन् । त्यसमा कहिले पनि अपमान गरेका छैनौं । प्रष्टसँग राज्यले हस्तक्षेप गर्नु हुन्न । त्यो जनताको स्वतन्त्रताको कुरा हो । कुन धर्म, कुन संस्कृति, कुन परम्परालाई मान्ने भन्ने कुरा अधिकार हो । हाम्रो संविधानले निर्माण गर्दा धर्म निरपेक्षमा पनि सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि गर्दै आएको छ ।’
साथै अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए ।
‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेला निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’
अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए ।































प्रतिक्रिया