काठमाडौं ।
जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आज काठमाडौँ आउने भएका छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष दूतकारुपमा नेपाल आउन लागेका हुन्।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोखरेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल, भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे, भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको भ्रमण लगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन् ।
भारतीय उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लिरहेका बेला हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमण अर्थपूर्ण मानिएको छ । चिनियाँ रक्षामन्त्रीको भ्रमण सत्तारुढ दल नेकपामा चुलिएको आन्तरिक विवादसँग पनि जोडिन सक्ने विश्लेषकहरुको दावी छ।
नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छी निरन्तर सक्रिय छिन् । उनले गत सोमबार मात्रै नेकपाका दुई अध्यक्ष मध्ये एक पुष्पकमल दाहालसँग भेटेर रक्षामन्त्रीको भ्रमणबारे औपचारिक जानकारी दिएकी थिइन् । चिनियाँ रक्षामन्त्रीले नेकपाका नेताहरुसँग सामुहिक भेट गर्ने पनि तयारी भइरहेको छ ।
अमेरिकी परियोजना एमसीसी पारित गर्न खोज्नु र बीआरआईका परियोजनालाई प्राथमिकतामा नराख्नुले प्रधानमन्त्री ओलीसँग चीनको दृष्टिकोण फेरिएको विश्लेषण छ । एक पद त्यागेर भएपनि नेकपालाई फुटबाट जोगाउनु पर्ने चीनको सन्देशप्रति प्रधानमन्त्री ओली असन्तुष्ट छन्। एक दिनका लागि नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री आइतबार साँझ नै फर्किने कार्यतालिका छ ।































प्रतिक्रिया