स्ववियु चुनावः कतै निर्विरोध, कतै अवरोध

स्ववियु चुनावः कतै निर्विरोध, कतै अवरोध

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । स्ववियु चुनाव कतिपय क्याम्पसहरुमा अवरोध सिर्जना भएपनि कतिपय क्याम्पसहरुमा निर्विरोध चयन भएका छन् ।

मनोनयन दर्ता गर्दा एक पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि र आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन भएपछि उक्त क्यामपसहरुमा निर्विरोध चयन भएको हो । निर्विरोध भएका क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३२ वटा वटा क्याम्पसको अध्यक्ष जितेको नेवि संघका केन्द्रिय सदस्य अनुराग शाहले बताए । अवरोध सिर्जना भएको क्याम्पसहरुमा सहजीकरणका लागि समन्वय भैरहेको पनि जानकारी दिए ।

त्यसैगरी अनेरास्ववियुले ३० क्याम्पसमा अध्यक्ष निर्वाचित भएको केन्द्रिय अध्यक्ष समिक बडालले दाबी गरे ।

यता सम्पूर्ण विवरण प्राप्त नभइसकेको तर लगभग २१ जति क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको अध्यक्ष महेश श्रेष्ठले बताए ।

काठमाडौंका क्याम्पसहरुमा निर्वाचनको अवरोध

चुनाव आउन अब तीन दिन मात्र बाँकी छ तर काठमाडौं उपत्यकाका २२ मध्ये ८ वटान क्याम्पसमा चुनावी प्रकृयाको अवराेध हट्न सकेको अवस्था छैन । केन्द्रीय क्याम्पस कीर्तिपुर, शंकरदेव, नेपाल ल, पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा र थापाथली इन्जिनियरिङ् क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो ।

नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले स्वविवेक प्रयोग गरि मनोमानी ढङ्गले दुईजनालाई टिकट दिएकाले अवरोध सिर्जना भएको केन्द्रिय सदस्य अनुराग शाहले केन्द्रिय अध्यक्षमाथि आरोप लगाए । उक्त विवाद आज बेलुकासम्म समाधान गर्ने गरि कार्य भैरहेको नेविसंघका केन्द्रिय सदस्यले जानकारी दिए ।

शंकरदेव क्याम्पसमा मतदाता सूची प्रकाशन हुन सकेको छैन । क्याम्पसमा ताला लगाइएको छ । नेवि संघबाट क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका सुशान्त बस्नेतले नियम विपरित ५ सय विद्यार्थीलाई भर्ना गरेको आरोप लगाएर अन्य विद्यार्थी संगठनहरुले ताला लगाएका हुन् ।

त्यस्तै, सरस्वति क्याम्पसमा मतदाता नामावली प्रकाशन हुन सकेको छैन । पब्लिक युथ क्याम्पसमा उम्मेदवारी दर्ता हुन बाँकी छ । पद्मकन्या क्याम्पसमा मनोनयन दर्ता हुन सकेको छैन । समस्या समाधानका लागि सर्बदलिय बैठक बस्ने भनिएको थियो तर क्याम्पस प्रशासनले मनपरी निर्णय गरेको स्ववियु सभापति ज्योती पनेरुले बताइन् ।

निर्वाचन अधिकृत शैलेन्दु प्रकाश अधिकारी घरि राजीनामा दिने र घरि आउने प्रकृया चलिरहेको उनले बताइन् । उनले भनिन्, ‘नोमिनेसन पेपर बाँडियो तर नोमिनेसन पेपरको कुनैमा निर्वाचन समितीको छाप भएको र कुनैमा छाप छैन ।’

क्याम्पस प्रशासनले स्ववियु चुनावको नियम उल्लङ्घन गरेको समेत बताइन् । बिहीबार सर्बदलिय बैठक बनेको थियो तर निर्णय हुन सकेन । अहिले पिके क्याम्पसमा १६ संगठनले ताला लगाएका छन् । विश्व भाषा, थापाथली इन्जिनियरिङ र नेपाल ल क्याम्पसमा पनि अवरोध सिर्जना भएको छ ।

त्रिविमा १६ जना स्ववियु सभापतिका लागि भिड्दै

त्रिवि केन्द्रिय क्याम्पसमा विभिन्न संगठनका १६ जना स्ववियु सभापतिका लागि चुनावी मैदानमा ओर्लिएका छन् । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, अखिल (क्रान्तिकारी)बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्र्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवार रहेका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।

Logo