काठमाडौं । पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेसम्बन्धी कानुन बनाउने विषयमा सांसदहरुले विरोध जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तारूढ दल तथा प्रतिपक्ष दलका सांसदहरूले सरकारले गलत निर्णय गरेको भन्दै सच्याउन माग गरेका हुन् ।
बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले सडकमा प्रतिगामीहरू सल्बलाएको समयमा पूर्वविशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिने कुरा आपत्तिजनक भएको बताए । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा दिन सरकारले कानून बनाउन लागेको भनेर मिडियामा कुरा आइरहेको छ,’ उनले भने, ‘जनता उपचार नपाएर ज्यान गुमाउने, गणतन्त्रलाई असफल बनाउन प्रतिगामीहरूले नाराबाजी गरिरहेको समयमा पूर्वविष्टिलाइ सुविधा दिने कुरा स्वीकार्य छैन ।’
यसैगरी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सुविधा बढाउने विषय गलत भएको बताए । “सुविधा बढाउने कुरा गलत छ । दलको तर्फबाट विरोध गर्दछु,” उनले भने ।
माओवादीकै अर्का सांसद देवेन्द्र पौडेलले पनि सरकारले विवेक गुमाएको आरोप लगाउँदै भने, ‘विशिष्ट व्यक्तिको सेवा सुविधानको कानुन बनाउने कुरा गरेर जनताप्रति गर्नुपर्ने विवेक गुमाएको महसुस भएको छ । यसो नगरौं ।’
नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिने गरी कानुन बनाउन नहुने बताए । सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा थप्ने विधेयक सदनमा नल्याउन उनको चेतावनी छ ।
यसैगरी स्वतन्त्र सांसद डा. अमरेश सिंहले पनि सरकारको खरो आलोचक गरेका हुन् । ‘पदमा हुँदा पनि लुट्ने, ठूलाठूला काण्ड गर्ने, एनसेल काण्डदेखि लिएर ललिता निवास् काण्ड होस् या वाइडबडी काण्ड गर्ने अनि रिटायर्ड भएपछि पनि जनताको कर पनि लुट्ने ?’ उनले भने, ‘यो मिल्दैन । पूर्वविशिष्ट दुनियाँ कुनै पद हुँदैन ।’





























प्रतिक्रिया