सेन्ट जेभियर्स स्कुलमा भर्ना खुलाः गोलाप्रथाबाट विद्यार्थी छनौट, कतै स्वागत, कतै विरोध !

सेन्ट जेभियर्स स्कुलमा भर्ना खुलाः गोलाप्रथाबाट विद्यार्थी छनौट, कतै स्वागत, कतै विरोध !

केन्द्रबिन्दु
1.42k
Shares

काठमाडौं । विद्यार्थीको पहिलाे रोजाईमा पर्ने गरेको सेन्ट जेभियर्स स्कुलमा भर्ना खुलेको छ । स्कुलले शैक्षिक शत्र २०८२ का लागि कक्षा १ मा भर्ना खुलाएको हो । स्कुलमा भर्ना हुन चाहने विद्यार्थीलाई विद्यालयले अनलाइन रेजिस्ट्रसन गर्न आह्वान गरेको छ ।

सेन्ट जेभियर्स स्कुलमा चैत्र २, ३ र ४ गते अनलाइन रेजिस्ट्रेसन गर्न सकिनेछ । रेजिस्ट्रसन फाराम भरिसकेपछि भौतिक उपस्थितिका लागि चैत ४ गते बिहान ९ बजेदेखि दिउँसोको २ बजेसम्म फाराम भर्न सकिनेछ ।

स्कुलले १ सय ७५ जना विद्यार्थीको कोटाका लागि भर्ना खुलाएको हो । भर्ना हुने विद्यार्थीको उमेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार साढे ५ देखि साढे ६ वर्षको हुनुपर्ने छ । रेजिस्ट्रसन फाराम भर्दा विद्यार्थीले पासपोर्ट साइजको फोटो, जन्मदर्ता, साथै युकेजी अर्थात एसकेजीको प्रोग्रेस रिपोर्टसमेत फाराम भर्दा स्क्यान गरेर अट्याच गर्नुपर्नेछ ।

हरेक वर्ष सेन्ट जेभियर्स स्कुलमा भर्ना क्षमताभन्दा बढी विद्यार्थीहरुले फाराम भर्दै आएका छन् । तर स्कुलले गोलाप्रथाबाट विद्यार्थी छनौट गर्ने गरेको छ ।

विगतको जस्तै यस वर्ष पनि सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलले गोलाप्रथाबाट विद्यार्थी छनौट गर्ने भएको छ । तर यस स्कुललको यस नियमप्रति कसैले स्वागत योग्य रहेको भन्दै आएका छन् भने कसैले सर्वाेच्चमा रिट नै दायर गरेका छन् ।

कक्षा १ मा अध्ययन गर्ने विद्यार्थीको इन्ट्रान्स परीक्षा लिनु त्यति व्यवहारीक नमानिएकाले गोला प्रथाबाट छनौट गर्न सुरु गरिएको सेन्ट जेभियर्स स्कुलका एक कर्मचारीले बताए । उनले भने, ‘स्कुलमा अध्ययन गर्न चाहने विद्यार्थीको चाप अत्यधिक छ तर हामीले सिमीत विद्यार्थीलाई मात्र पढाउँछौं । त्यसैले गोला प्रथाको नियम लागू गरिएको हो ।’

किन थाल्यो सेन्ट जेभियर्सले गोलाप्रथाबाट भर्ना प्रक्रिया ?

सेन्ट जेभियर्स स्कुल काठमाडौं उपत्यकाका हुन् वा उपत्यका बाहिरका विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको छ । सेन्ट जेभियर्सले दुई वर्ष अगाडिसम्म कक्षा १ मा प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरेको थियो । कक्षा १ मै भर्ना हुन प्रवेश परीक्षा लिन नहुने भन्दै चौतर्फी आलोचना हुन थालेपछि सेन्ट जेभियर्सले गोलाप्रथाबाट विद्यार्थी छनौट गर्ने प्रणालीको सुरुवात गरेको हो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘पढ्न पाउने सम्पूर्ण बालबालिकाको अधिकार हो । शिक्षाको प्रारम्भिक चरणमै कक्षा १ मा प्रवेश परीक्षा लिएर अनुत्तीर्ण भएपछि भर्नाको लागि अयोग्य छस् भन्न पाइँदैन ।’

उनले थपे, ‘सेन्ट जेभियर्स स्कुलमा सिमीत कोटामा विद्यार्थीलाई पढाइन्छ । तर विद्यार्थीको चाप अत्यधिक हुन्छ । विद्यार्थीलाई सुरुमै परीक्षा लिएर अध्ययनका लागि अयोग्य भन्दा उनीहरुको बालमनोवलमा नकारात्मक असर पर्न जान्छ । त्यसैले हामी लामोसमय देखि कक्षा १ मा प्रवेश परीक्षा दिनुहुँदैन भन्दै आएका छौं ।’

कतिपय स्कुलले प्रवेश परीक्षा लिन छोडेको त कतिपय स्कुलले अझै परीक्षा लिदै आएका छन् त्यसको विरुद्दमा पनि आवाज उठाउँदै आएको अध्यक्ष भण्डारीको भनाइ छ ।

गोलाप्रथाबाट भर्ना लिनुको कारण खुलाउन सर्वाेच्चको आदेश

ललितपुरमा रहेको सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलमा गोलाप्रथाबाट विद्यार्थी भर्ना गर्नुको कारण खुलाएर लिखित जवाफ पेस गर्न सर्वाेच्व अदालतले आदेश जारी गरेको छ । उक्त विषयमा अधिवक्ता सुजाता केसीले रिट दायर गरेकी थिइन् । शुक्रबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । रिटमा गोलाप्रथा खारेज गरी योग्यता प्रणालीका आधारमा भर्ना लिनुपर्ने माग गरिएको छ । रिटमा गोलाप्रथाबाट भर्ना लिँदा यसले विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता तथा योग्यताको परीक्षण नगर्ने दाबी गरिएको छ ।

यसबाट विद्यार्थीको भविष्यमाथि पनि खेलबाड हुने र शिक्षाको मूल मर्मविपरीत भएकाले यो प्रथा हटाउनुपर्ने माग गरिएको छ । रिटमा सेन्ट जेभियर्स स्कुल, सेन्ट मेरिज स्कुल, ललितपुर महानगरपालिका, महानगरको शिक्षा शाखा, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश र शिक्षा तथा खेलकुद मन्त्रालयलाई रिटमा विपक्षी बनाइएको छ । ती विपक्षीहरूको जवाफ प्राप्त भएपछि यस रिटमा अदालतले थप सुनुवाइ अघि बढाउनेछ । भर्खर विद्यालय पुगेका बालबालिकाको परीक्षा लिएर पास र फेल गराउँदा त्यसले मनोवैज्ञानिक असर पर्न सक्ने भनेर पनि प्रवेश परीक्षाको विरोध भएको थियो ।

Skip This
Skip This
Logo