काठमाडौं । विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई मिनी संसदको रुपमा मानिन्छ । त्यसैले हरेक दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थीको नेतृत्व गर्ने नेता र राजनीति गर्ने विद्यार्थीहरुका लागि विषेश पर्वकै रुपमा लिने गरिन्छ ।
तर, स्ववियु चुनावको समयमा विद्यार्थी संगठनहरुको आन्तरिक किचलोको कारण चुनाव अवरुद्ध हुने गरेको छ । स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित रुपमा हुनसकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन त्यसपछि २०७३ चैत १५ गते भएको थियो । २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेकमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । त्यतिवेला नौ आङ्गिक क्याम्पसमा निर्वाचन हुनसकेको थिएन । यस पटक पनि विद्यार्थी संगठनकै कारण त्रिविको आंगीक क्याम्पसमा समेत चुनाव अवरुद्ध बनेको छ ।
सत्तारुढ दल कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, प्रतिपक्ष दल माओवादीनिकट अखिल क्रान्तिकारीलगायत संगठनविचको कलह उत्पन्न तथा विवादका कारण निर्वाजनमा अवरोध सिर्जना भएको छ । क्याम्पसमा तालाबन्दी र निर्वाचन समितिका सदस्यमाथि धम्की जस्ता कारणले ती क्याम्पसमा स्ववियु निर्वाचन प्रभावित भएको केन्द्रिय निर्वाचन समितीको सदस्य सचिव पशुपति अधिकारीले बताए ।
त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस काठमाडौं उपत्यकामा र ४० क्याम्पस उपत्यका बाहिर छन् । काठमाडौंका ६ र बाहिरका ९ क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ । काठमाडाैंको त्रिवि केन्द्रिय क्याम्पस , सरस्वतीे, पब्लिक युथ, शंकरदेव, नेपाल ल, विश्वभाषा क्याम्पसहरुमा निर्वाचन अनिश्चित बनेको छ ।
त्यस्तै, उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा क्याम्पस रूपन्देही, तेह्रथुम क्याम्पस, रामसागर रामस्वरूप क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस रामपुरमा निर्वाचन विथोलिएको छ ।
उक्त क्याम्पसहरुमा निर्वाचन समितिले निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरिसकेको छ । त्यस क्याम्पसमा के कति कारणले निर्वाचन अवरुद्ध भएको हो ? सम्बद्ध पक्षसँग समझदारी कायम गरी जुन अवस्था र प्रक्रियामा रोकिएको हो, सोही अवस्था र प्रक्रियाबाट निर्वाचन कार्य तत्कालै अघि बढाउन निर्देशन गरि पत्राचार गरिएको समितिले जनाएको छ ।
विद्यार्थी संगठनकै असहयोका कारण चुनाव अनिश्चित
स्ववियुको निर्वाचन भाेलि ५ चैतका लागि तोकिएको छ । केही सामुदायिक क्याम्पसमा पनि विद्यार्थी संगठनको असहयोगले निर्वाचन कार्यतालिका अनुमसार प्रकृया आगाडि नबढेको समितिले जनाएको छ ।
कतिपय क्याम्पसमा भने २०७९ मा निर्वाचित स्ववियु अध्यक्ष लगायत पदाधिकारीहरुले नै अवरोध गरिरहेको अन्य संगठनका विद्यार्थी नेताहरुले बताएका छन् । स्ववियु निर्वाचन हुन नसके ६ महिनासम्म कार्यकाल थप हुन सक्ने प्रावधान रहेको छ । त्यही कारण ति स्ववियु सभापतिहरुले चुनाव विथोल्न खोजेको उनीहरुको आरोप छ ।
नेविसंघको आन्तरिक गुटबन्दीका कारण केही क्याम्पसमा निर्वाचन अवरुद्ध भएको आरोप अनेरास्ववियुले लगाएको छ । तर यस विषयमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा भने खासै खुल्न चाहेका छैनन् । उनको आफ्नै संगठन भित्रका नेताहरु नै उनको नेतृत्वबाट सन्तुष्ट छैनन् ।
नेविसंघकै एक केन्द्रिय सदस्यले भने, ‘हाम्रो संगठनको अध्यक्षको अपरिपक्व र एकलौटि निर्णयले कतिपय क्याम्पसहरुमा उम्मेदवार छनौट प्रकृया विवादित बनेको छ ।’ विद्यार्थी नेताहरु एक अर्का संगठनलाई आरोप प्रत्यारोप लगाइरहँदा नेविसंघका अध्यक्ष शेर्पा र अनेरास्ववियुका अध्यक्ष समिक बडालले भने छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनमा प्रतिबद्ध रहेको समेत जनाएका छन् ।
विद्यार्थी संगठनहरुले उपकुलपतिलाई पनि टेरेनन्
तालाबन्दी खुलाएर निर्वाचन अघि बढाउन त्रिवि उपकुलपतिलगायतले राजनीतिक नेतृत्व र विद्यार्थी प्रतिनिधिसँग वार्ता गर्दा समेत सफल हुन नसकेको सदस्य सचिव अधिकारीले बताए । नेपाल ल क्याम्पसमा अनेरास्ववियुले निर्वाचन कार्यतालिका च्यातेपछि अवरोध भएको छ । विश्वभाषा क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण निर्वाचन स्थगन गरिएको छ ।
पब्लिक युथ क्याम्पसमा नेविसंघको अवरोधका कारण चुनावी प्रक्रिया अवरुद्ध बनेको छ । त्यस्तै, शंकरदेव क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थी संगठनले तालाबन्दी गरेपछि निर्वाचन अनिश्चित बनेको छ । सरस्वती क्याम्पसमा अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले अवरोध गरेका छन् ।
स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसपमा स्ववियु निर्वाचन तथा २०७९ सालमा ५० आङ्गिक र ३०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियाे । यस पटक ४७ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनमा मतदान गर्न मङ्गलबार बिहान ८ देखि दिउँसो ४ बजेसम्मको समय तय गरिएको छ ।





























प्रतिक्रिया