काठमाडौं । स्ववियु निर्वाचन नजिकिँदै गर्दा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा चुनावी माहोल तातिएको छ ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) तर्फबाट पूर्णिमाया परियार सभापतिको उम्मेदवार बनेकी छिन् । उनी स्ववियुको इतिहासमै पहिलो दलित महिला उम्मेदवार हुन् । उनी सहयोगी भावनाका कारण विद्यार्थीमाझ लोकप्रिय छिन् ।
पूर्णिमा २०७९ स्ववियु निर्वाचनकी सदस्य समेत हुन् । उनले शिक्षामा पहुँच र निरन्तरता, गुणस्तरीय शिक्षा, परीक्षा प्रणाली सुधार, शिक्षालाई रोजगारीसँग जोड्ने, छात्रवृत्ति अवसरलगायतका विषयलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएकी छिन् ।
स्ववियु सभापतिको पदका लागि उनको क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले संयुक्त प्यानलसँग भिडन्त हुने पक्का भएको छ । पद्मकन्या क्याम्पसमा नेविसंघको छुट्टै पकड छ । इतिहासलाई फर्केर हेर्दा पनि स्ववियु चुनावमा नेविसंघबाटै सभापति चुनिएको देखिन्छ ।
२०७९ को स्ववियु चुनावमा समेत अनेरा स्ववियु र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । तर पनि नेविसंघकी ज्योती पनेरु सभापतिमा निर्वाचित भइन् । ‘विपक्षी संगठनहरु संयुक्त रुपमा उम्मेदवार उठाए पनि जित नेविसंघकै पक्षमा छ ।’ स्ववियु सभापति पनेरुको दावी छ ।

तर, यता आधिकारीक रुपमा पूर्णिमायाले उम्मेदवारी दिएपनि केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले भुपि ऐर उम्मेदवार भएको भन्दै पत्र लेखेको विषय बाहिरिएको थियो । ‘स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको आधिकारीक उम्मेदवार सम्बन्धमा परेको दाबी विरोधबारे प्रष्ट पार्न त्यहाँबाट लेखिएको पत्र प्राप्त भै अध्ययन गर्दा पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका नाममा पेश भएको पत्र आधिकारीक नभएको पाइएको र नेपाल विद्यार्थी संघको आधिकारी समर्थन श्री भुपि ऐर नेतृत्वमा दर्ता गरिएको प्यानललाई रहेको प्रष्ट पार्दछु ।’ पत्रमा उल्लेख छ । तर, यो स्ववियु सभापतिको टिकट नपाएपछि भूपी ऐरको पक्षधरले झुटो अफवाह फैलाएको बताइएको छ ।
कांग्रेसकी केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले नेविसंघको आधिकारीक उम्मेदवार पूर्णिमाया नै रहेको भन्दै बाँकी अफवाहको खण्डन गरिन् । साथै यस्तो कृयाकलाप गरी मतदाता माझ भ्रम नफैलाउन समेत आग्रह गरेकी छन् ।

यतिमात्र होइन, क्याम्पसको वेबसाइटमा राखिएको उम्मेदवारहरुको नामावली लिस्टमा पनि पूर्णिमाया नै रहेको ठहर्छ । किनकी यो लिष्ट निर्वाचन समितिले तयार पारेको हो, कुनै संगठनले होइन । हालकी स्ववियु सभापति पनेरु पनि नेविसंघबाट आधिकारिक उम्मेदवार परियार नै रहेको बताउँछिन् ।
स्ववियु निर्वाचनका लागि पद्मकन्या क्याम्पसमा १० वटा संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये नेविसंघकी पूर्णिमाया र संयुक्त गठबन्ध गरेको अनेरास्ववियु र अखिल क्रान्तिकारीको तर्फ बाट सुनिता घिमिरेबीच रोचक प्रतिष्पर्धा हुने देखिन्छ । निर्वाचन प्रकृयामा अवरोध नभएको अन्य क्याम्पसहरुमा भोलि अर्थात् चैत ५ गते निर्वाचन हुँदैछ भने पद्मकन्या क्याम्पसमा चैत ७ गते विद्यार्थीहरुले आफ्नो नेतृत्व चयन गर्नेछन् । तोकिएको समयमा संगठनहरुले उम्मेदवारी दर्ता गराउन नसक्दा स्ववियु चुनाव धकेलिएको हो ।





























प्रतिक्रिया